काठमाडौँको संकटा मन्दिर संकटा देवीको एक प्रसिद्ध मन्दिर हो । यो मन्दिर नयाँ सडक स्थित नेपाल वायुसेवा निगमको कार्यालयको पछाडीको गल्लीमा पर्दछ जसलाई टेबहाल भनिन्छ ।। संकटा र करुणामयको मन्दिर एउटै हो, जसको तल्लो तलामा करुणामय र माथिल्लो तलामा संकटाको मूर्ति राखिएका छन् ।मत्स्येन्द्रनाथलाई करुणामय पनि भनिन्छ । यता संकटालाई भने समस्या र संकट हटाउने देवीका रूपमा लिने गरिन्छ ।
जसको पूजाआजा ज्यादा मात्रामा वज्राचार्यले गर्ने गरेका छन् । संकटाको स्थापनाका सम्बन्धमा काठमाडौं उपत्यकामा एउटा किंवदन्ती प्रचलित छ । त्यस अनुसार, लिच्छविराजा नरेन्द्र देवका समयमा काठमाडौं उपत्यकामा १२ वर्षसम्म खडेरी परेछ । खडेरीको कारण खोजी गर्दा त्यसको मुख्य कारण गोरखनाथ रहेको थाहा भयो ।उनी उपत्यकाका सबै नागहरूलाई आप्नो अधीनमा लिई स्वयम्भूस्थित गुफामा दिव्य साधनामा बसेका रहेछन् ।
गोरखनाथको अधीनमा परेका नागहरूले वर्षा गराउन पाएनछन् । यता नागहरूलाई गोरखनाथको अधीनबाट मुक्त गराई उपत्यकामा वर्षा गराउनका लागि उनलाई साधनाबाट ब्यूँताउन आवश्यक थियो । यो कुरा उनका गुरु मत्स्येन्द्रनाथबाट मात्र सम्भव रहेछ । तसर्थ भारतको असममा रहेका मत्स्येन्द्रनाथलाई उपत्यका ल्याउने तयारी गरिएछ ।काठमाडौं आउँदा बाटामा उनलाई विघ्नबाधा नपरोस् भनी संकटाको कलश उनीसाथै ल्याइएछ ।
मत्स्येन्द्रनाथ उपत्यका आइपुग्नासाथ आफ्ना गुरु आएको थाहा पाएर गोरखनाथ साधनाबाट ब्यूँतिएर गुरुको स्वागत गर्न आएछन् । अनि उनको नियन्त्रणमा रहेका नागहरू स्वतन्त्र भएछन् र उपत्यकामा वर्षा गराएछन् ।यता मत्स्येन्द्रनाथका लागि काठमाडौंमा करुणामयको मन्दिर बनाइएको थाहा पाएपछि संकटाले पनि यही मन्दिरमा बस्ने मनसाय राखिछन् । त्यसपछि उनको मूर्ति करुणामयको मन्दिरको माथ्लो तलामा राखिएछ ।
संकटाको मन्दिर नेपाली तले मन्दिरको शैलीमा दुई तलाको बनाइएको छ । यसको छाना धातुका पाताले बनेको छ, जसको माथ्लो भागमा धातुकै पाँच वटा गजुर राखिएका छन् । मन्दिर अगाडि बन्धुदत्त वज्राचार्यको मूर्ति छ, जसले करुणामयलाई काठमाडौंमा ल्याएको मानिन्छ । संकटामा बौद्धमार्गीहरू तान्त्रिक विधिले पूजाआजा गर्दछन् भने हिन्दूहरू नवरात्रका बेला यिनको पूजाआजा गर्दछन् ।