वनिर्वाचित भारतीय राष्ट्रपति रामनाथ कोविन्दले नेपालमा जन्मिएका भगवान बुद्ध र उनले विश्वमा फैलाएको शान्तिको सन्देशको उपेक्षा गर्दै बुद्धले फैलाएको शान्ति अभियान भारतीय भूमिबाट सुरु भएको बताएका छन् ।
मंगलबार सपथ लिएलगत्तै दिएको पहिलो भाषणमा राष्ट्रपति कोबिन्दले सो कुरा बताएका हुन् । राष्ट्रपति कोबिन्दले भगवान बुद्धले दिएको शान्तिको सन्देश र शान्ति स्थापनाको मार्गदर्शनलाई भारतीय भूमिबाट सुरु भएको र त्यसले विश्वको नेतृत्वको गरेको दाबी गरे ।
सम्बोधनका क्रममा राष्ट्रपति कोविन्दले भने, ‘आज पूरै विश्वमा भारतीय दृष्टिकोणको महत्व बढ्दै गएको छ, विश्वको परिदृष्यमा हाम्रो जिम्मेवारी पनि विश्वस्तरकै हुन्छ, यहाँ हामीले के भन्न उचित हुन्छ भने भगवान बुद्धले यही धर्तीबाट शान्तिको स्थापना गर्नुभएको हो र उहाँले दिनुभएको सन्देशमार्फत हामीले विश्वको नेतृत्व गरिरहेका छौ ।’
यद्यपि, राष्ट्रपति कोविन्दले भगवान बुद्धले देखाउनुभएको शान्तिको बाटोसँगै भारतले समग्र वातावरणको सन्तुलन मिलाउने अभियानमा समेत पछिल्ला वर्ष विश्वको नेतृत्व गरिरहेको बताए ।
भगवान बुद्धको जन्मस्थान, उनले दिएको धार्मिक विश्वदृष्टिकोण र शान्तिको मार्गदर्शनका बारेमा नेपाल र भारतबीच विवाद हुँदै आइरहेका बेला फेरि एकपटक नवनिर्वाचित भारतीय राष्ट्रपतिले यो सवालमा नयाँ बहस अघि ल्याइदिएका छन् ।
उनले आफ्नो भूमीबाटै भगवान बुद्धले शान्तिको स्थापना गरेको र त्यो दृष्टिकोणमार्फत भारतले विश्वको नेतृत्व गरिरहेको भन्नुको अर्थ भगवान बुद्धले देखाएका मार्गदर्शनको जस भारतले लिने संकेत दिएका छन् । यसले नेपालमा जन्मिएका बुद्ध र नेपालको दाबीमाथि फेरि एकपटक भारतले अन्याय गरेको ठहर्ने देखिएको छ ।
भारतले यही विषयलाई गयासँग जोडेर भगवान बुद्ध भारतमै जन्मिएको भन्दै विश्वलाई भ्रम समेत दिइरहेको छ । यसको नेपालले खण्डन समेत गर्दै आइरहेको छ ।
राष्ट्रपति कोबिन्दले सम्बोधनका क्रममा आफ्नो जीवन यात्रा, भारतको पछिल्लो स्थिति, भविष्यको सम्भावना र विश्वमा भैरहेको तीव्र विकाससँगै अघि बढ्ने सवालमा महत्वपूर्ण मन्तव्य दिएका थिए ।



