काठमाडौं । लामो समयदेखि सञ्चालनको पर्खाईमा रहेको कुर्था–जनकपुर–जयनगर रेल सेवा आजबाट सञ्चालन हुने भएको छ ।नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले अव रेल सञ्चालनमा कुनै अवरोध नहुने बताए । आजदेखि नियमित रूपमा दैनिक एक पटक कुर्था–जयनगर सम्म रेल ओहोरदोहोर गरिने बताए रेल्वे सेवा नियमित सञ्चालनका लागि नेपाल रेल्वे कम्पनीले रेल ट्रक नजिक रहेका हाट बजारहरू समेत खालि गराई सकेको छ ।

आजदेखि दुई रेल दैनिक जयनगरदेखि कुर्थासम्म ड्राई (बिना यात्रु) सञ्चालन हुने छ । ‘महाप्रबन्धक झाले भने, ‘औपचारिक उद्घाटन नहुँदासम्म बिना यात्रु प्रत्येक दिन एक पटक जयनगरबाट कुर्था र कुर्थाबाट जयनगरसम्म रेल चलाउँछौँ, उद्घाटन भएपछि यात्रुको टिकट काटेर नियमित रेल सेवा सञ्चालन गर्ने तयारीमा हामी छौँ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रेल सञ्चालनका लागि चालकसहितका प्राविधिक कर्मचारी भारतीय रेल कम्पनी केआरसीएल कम्पनीसँग दुई पक्षीय जिटुजी सम्झौता भएको महाप्रबन्धक झाले बताए । बाँकी प्रशासनिक तथा सहयोगी गरी ६५ जना कर्मचारी नेपाल रेल्वे कम्पनीले भर्ना गरी उनीहरूलाई तालिमसमेत दिई तयार गरिसकेको महाप्रबन्धक झाले बताए ।

गत २०७७ असोज २ गते भारतबाट रु ८४ करोड ६५ लाखमा खरिद गरिएका दुई सेट रेल जयनगरबाट जनकपुर ल्याएर धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी त्रिपाल ओढाएर राखिएको छ । लामो समयदेखि त्रिपालमुनी थन्किएका रेलको गत पुस २४ गते जयनगरदेखि कुर्थासम्म परीक्षण गरिएको थियो ।