काठमाडौं : लाङटाङ क्षेत्रको पदयात्रा अनुमति लिएर हिँडेका ताइवानी नागरिक २१ वर्षीय लाइङ सिङ युन र १९ वर्षीया लिउ चेन चुन ०७३ फागुन २० देखि बेपत्ता भए । परिवारको लामो खोजी प्रयासपछि ५५ औं दिनमा धादिङको जंगलमा एकजना जीवितै र अर्का मृत भेटिए ।लाङटाङ क्षेत्रकै पदयात्रामा हिँडेका डेनमार्कका नागरिक २६ वर्षीय मार्टिन अडसेन ओभरगार्ड ०७३ फागुन २३ गतेदेखि बेपत्ता भए । उनी अझै बेपत्ता छन् । लाङटाङ राष्ट्रिय निकुञ्जको क्यान्जिङ गोम्पाबाट बेपत्ता भएका उनको खोजीका लागि परिवारले २५ हजार सात सय डलर सहयोग संकलन गरिरहेको छ ।
यी बेपत्ता पर्यटक उदाहरण हुन् । कमजोर नीतिले पर्यटकलाई खुकुलो हुँदा बेपत्ता हुने क्रम बढ्दो छ । प्रहरीको तथ्यांकअनुसार ०६९/७० मा आठ, ०७०/७१ मा १२, ०७१/७२ मा १२, ०७२/७३ मा १४ र ०७३/७४ मा १६ जना पर्यटक बेपत्ता भएका छन् । पाँच वर्षको अन्तरमा ६२ जना विदेशी पर्यटक बेपत्ता भएको प्रहरीको तथ्यांक छ ।यता, ०७१/७२ मा एक सय ६२, ०७२/७३ मा १३ जना र ०७३/७४ मा ३२ जना गरी तीन वर्षमा दुई सय सात जना विदेशीको मृत्यु भएको छ । जसमा एक सय ४० जना पुरुष छन् भने ६७ जना महिला छन् ।
जथाभावी पदयात्रा अनुमति दिने र एकद्वार पद्धतिबाट विदेशी पर्यटकलाई पदयात्रा र हिमाल आरोहणका लागि अनुमति नदिँदा पर्यटक बेपत्ता र मृत्यु हुने गरेको हो । नेपाल पर्यटन बोर्ड र टानले पदयात्राको तथा पर्यटन विभाग र नेपाल पर्वतारोहण संघले हिमाल आरोहण अनुमति दिने गरेका छन् । विदेशी पर्यटकले भौगोलिक अवस्थाको जानकारी र गाइडविनै नक्साकै भरमा पदयात्रा गर्दा बेपत्ता र मृत्यु हुने गरेको पर्यटन व्यवसायीको भनाइ छ ।



