काठमाडौं । नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविदले बताएका छन् । यतिबेला (सोमबार बिहान) पहाडी भेगमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा छ ।
महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज कतै वर्षा तथा हिमपातको सम्भावना देखिएको छैन । आज दिउँसो तथा राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । भोलि मंगलबार दिउँसो भने पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना देखिएको बुलेटिनमा उल्लेख छ । बुलेटिनअनुसार मंगलबार राति देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । वर्षाको सम्भावना भने छैन ।
यस्तै बुधबार दिउँसो पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । अनि पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बुधबार राति पनि पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । अनि उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ । जसमा भनिएको छ : खासै उल्लेखनीय मौसम परिवर्तन नभएता पनि बिहान र बेलुकीको समयमा चिसो हुने हुनाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध छ ।



