नेपालमा अझै ५० प्रतिशत बाल क्यान्सर बिरामी उपचारको पहुँच बाहिर छन् । बर्सेनि एक हजार ५०० हाराहारीमा यस्ता बिरामी हुने र तीमध्ये आधा मात्रै उपचारको पहुँचमा आउने गरेको देखिएको छ ।बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले देशभरका १२ क्यान्सर परीक्षण हुने अस्पतालको तथ्याङ्क संकलन गर्दै आएको छ ।
अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा. कृष्णसागर शर्माले बर्सेनि ७५० हाराहारीमा मात्रै क्यान्सर पी’डित बालबालिका उपचारको पहुँचमा आउने गरेको जानकारी दिए । उनले भने, ‘विश्वको तथ्याङ्क र नेपालको जनसङ्ख्यालाई हेर्दा नेपालमा बर्सेनि एक हजार ५०० हाराहारीमा नयाँ बाल क्यान्सरका बिरामी हुनुपर्छ ।’ कैयौंको सङ्ख्यामा अन्य कारणबाट मृ’त्यु भएको देखिएपनि क्यान्सर पत्ता नलागेको हुनसक्ने उनको भनाइ छ ।
अस्पतालका उपनिर्देशकसमेत रहेका डा. शर्माले अगाडि भने, ‘बच्चाको ज्वरोलगायत अन्य कारणबाट मृ’त्यु हुन्छ । परीक्षण नहुँदा उनीहरुको क्यान्सर भएर मृ’त्यु भएको पनि हुनसक्छ ।’ कतिपयले क्यान्सर हो भन्ने थाहा पाएपछि उपचार नै नगरी घरमा राख्ने गरेका हुन्छन् । ‘समयमै उपचार गरे क्यान्सर निको हुन्छ’ भन्ने सन्देश प्रवाह गर्न सकेमा बिरामी अस्पतालसम्म आइपुग्ने उनी बताउँछन् ।
नेपालमा अहिले १२ जना मात्र बाल क्यान्सर विशेषज्ञ छन् । विशेषज्ञ चिकित्सकको सङ्ख्या बढाउन आवश्यक देखिएको डा. शर्मा बताउँछन् ।उनका अनुसार चितवन र काठमाडौंमा मात्रै बाल क्यान्सरको उपचार हुने गरेको छ । १० लाख बालबालिकामध्ये एक सयदेखि १५० जनामा क्यान्सर हुने गरेको जनाउँदै डा. शर्माले समयमै पत्ता लगाएर उपचार गरे धेरैजसो बाल क्यान्सर निको हुने बताए ।
‘सुरुमै शंका गरेर रोग छिटो पत्ता लाग्छ, छिटो पत्ता लाग्यो भने धेरैजसो बच्चाको क्यान्सर निको हुन्छ । धेरैजसो बच्चाको क्यान्सर ७५ प्रतिशत हाराहारी निको हुने गरेको छ,’ उनी भन्छन् ।वयस्क र वृद्धको भन्दा बाल क्यान्सर धेरै निको पार्न सकिन्छ । उपनिर्देशक डा. शर्मा भन्छन्, ‘बाल क्यान्सर उपचार निःशुल्क गर्नेतर्फ राज्यले ध्यान दिनु जरुरी छ ।’ नेपालमा नभएका सेवा सुविधा र प्रविधि नेपालमा भित्र्याउने र चिकित्सकलाई साधनस्रोत सम्पन्न बनाउन सकियो भने बाल क्यान्सर रोगको उपचार सहज हुने उनको भनाइ छ ।
अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा. निभा तिवारी समयमा उपचारमा ल्याउन सकेमा ९० देखि ९५ प्रतिशत बाल क्यान्सर निको हुने बताउँछन् । बच्चामा क्यान्सर रोग पूर्ण रुपमा रोकथाम गर्न सहज नभए पनि विषादीयुक्त खानेकुरा रोक्न सकेमा घटाउन सकिने उनको भनाइ छ । बच्चाहरुमा रगत, हड्डी, दिमाग, ग्रन्थी लगायतमा क्यान्सर हुने उनले बताए ।
जनचेतनाको अभावमा बच्चाको क्यान्सर उपचारका लागि अस्पताल आउने क्रम कम भएको डा. तिवारीले बताए । ‘विद्यालयको पाठ्यक्रममा बालबालिकालाई बाल क्यान्सरका बारेमा पढाउनुपर्छ,’ उनी भन्छन् । अहिले अस्पतालमा धेरै बच्चा अन्तिम अवस्थामा आइपुग्ने गरेकाले रोगको लक्षणको बारेमा व्यापक प्रचारप्रसार गर्नुपर्नेमा उनले जोड दिए ।
बिरामी हुँदा फार्मेसीमा औषधि किनेर खाने प्रचलनका कारण धेरैको रोग पहिचान गर्न ढिलो हुने गरेको डा. तिवारी बताउँछन् । लामो समयसम्म ज्वरो आउने, शरीरमा गिर्खा देखिने, सुन्निने, निलडाम, बिमिरा, धब्बा देखिने, शरीरका कुनै एक भागमा लामो समयसम्म सुन्निने, निको नहुने जस्ता लक्षण क्यान्सरका हुनसक्ने उनी बताउँछन् । पेट फुल्ने, टाउको दुख्ने, निन्द्रा नलाग्ने, लामो समयसम्म अनियन्त्रित तरिकाले बान्ता हुने जस्ता लक्षण क्यान्सरका हुने डा. तिवारी बताउँछन् ।
बाल क्यान्सर स्वास्थ्य



