सशस्त्र प्रहरी बलले बिभिन्न पदमा १३ सय ८९ पदमा भर्ना खुला गरेको छ। आज गोरखापत्रमा सूचना प्रकाशित गरी सशस्त्र प्रहरीले जवान पदमा ११ सय जना, बिभिन्न प्राविधिक र परिचर पदमा गरी १३ सय ८९ जनाको भर्ना खुला गरेको हो।

सशस्त्र प्रहरी जवानका लागि १८ वर्ष पूरा भइ २२ वर्ष ननाघेको हुनुपर्छ भने अरु पदका लागि १८ वर्ष पूरा भइ २७ वर्ष ननाघेको हुनुपर्नेछ। त्यस्तै जवानका लागि ८ कक्षा पास हुनुपर्नेछ भने प्राविधिक पदका लागि १० कक्षा उतीर्ण भइ ६ महिना तालिम गरेको हुनुपर्नेछ। परिचर पदमा १८ वर्ष पूरा भइ २५ वर्ष ननाघेको र साधारण लेखपढ भएको ब्यक्तिले दरखास्त दिन सक्नेछ।

इच्छुक नेपाली नागरिकले यी पदमा भर्ना हुन चाहेमा भदौ २५ गतेदेखि असोज २४ गतेसम्म दरखास्त फारम बुझाउनुपर्ने सशस्त्र प्रहरीले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सशस्त्र प्रहरी जवानमा भर्ना हुन चाहनेले हलचोक स्थित प्रधान कार्यालयसँगै सुनसरीमा रहेको पूर्व क्षेत्रीय मुख्यालय, बाराको पथलैयामा रहेको मध्य क्षेत्रीय मुख्यालय, पोखरामा रहेको पश्चिम क्षेत्रीय मुख्यालय, सुर्खेतमा रहेको मध्यपश्चिम क्षेत्रीय मुख्यालय, अत्तरियामा रहेको सुदूर पश्चिम क्षेत्रीय मुख्यालय र बाँके नौवस्ताको तालिम केन्द्रमा दरखास्त फारम बुझाउनुपर्नेछ।  अरु पदकाले भने काठमाडौं हलचोकमा रहेको प्रधान कार्यालयमा बुझाउनुपर्नेछ।