विराटनगर । प्रदेश नम्बर १ को नामकरणका लागि प्रक्रिया सुरु गर्न प्रदेश सरकारले फागुन १० गते सर्वदलीय बैठकको आह्वान गरेको छ । नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न यसअघि प्रदेश १ सरकारले बनाएको समितिका तर्फबाट सर्वदलीय बैठकको आह्वान गरिएको हो ।

प्रदेश १ को सरकारको गत माघ १६ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन सामाजिक विकास मन्त्री जयराम यादवलाई प्रदेश १ को नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न जिम्मा लगाएको थियो । सोही समितिको जिम्मेवारी अनुसार, बिहीबार मुख्यमन्त्री राजेन्द्रकुमार राईको उपस्थितिमा उनकै कार्यकक्षमा बसेको बैठकले प्रदेशको नाम टुङ्गो लगाउने प्रक्रिया अघि बढाउन लागेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैठकमा नेपाली काँग्रेसका तर्फबाट संसदीय दलका उपनेता एवं सडक, पूर्वाधार तथा सहरी विकास मन्त्री हिमाल कार्की, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी संसदीय दलका नेता तथा सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फे सहभागी थिए ।

बैठकले सत्तारुढ पाँच दलीय गठबन्धनका तर्फबाट सर्वसम्मतिले प्रदेश १ को नाम प्रस्ताव गरिने प्रारम्भिक सहमति गरेको हालका स्वास्थ्य मन्त्री तथा प्रदेशको नामकरणका लागि गठित समन्वय तथा सहजीकरण समितिका प्रमुख जयराम यादवले जानकारी दिए । बैठकमा प्रदेशको नाम प्रदेश सभामा प्रस्तुत गर्नुपर्दा सत्तारुढ गठबन्धनका तर्फबाट सहमतिमा प्रस्ताव गर्ने प्रारम्भिक सहमति गरेका छौँ’ मन्त्री यादवले भने ।

मन्त्री यादवले प्रदेश १ को नामकरण सम्बन्धमा फागुन १० गते प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहितको सर्वदलीय बैठक डाकिएको जानकारी दिएका छन् । उक्त बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका नेता, तिनै दलहरूका प्रदेश कमिटी अध्यक्ष/सभापति, सरकारका सबै मन्त्रीहरू सहभागी हुने मन्त्री यादवले बताए । उनका अनुसार, बैठक फागुन १० गते दिनको १२ः१५ बजेका लागि डाकिएको छ ।