बुधबार साझा पार्टी र विवेकशील पार्टीबीच पार्टी एकताको घोषणा भएको छ । दुई पार्टीबीच एकता भएपछि बनेको नयाँ पार्टीको नाम विवेकशील साझा पार्टी भएको छ । पार्टी एकता घोषणा भएलगत्तै दुवै तर्फबाट समेटेर ३४ जनाको केन्द्रीय समिति निर्माण गरिएको छ ।
यद्यपि, आगामी महाधिवेशनसम्म ५१ जनाको केन्द्रीय समिति बनाएर जाने समेत बताइएको छ । अहिलेलाई पार्टी नेतृत्वको संयोजक चयन भएको छैन ।
दुवै पार्टीबाट नेतृत्व गरेर आएका रविन्द्र मिश्र र उज्जलबहादुर थापा सहसंयोजक रहेका छन् । त्यसको मुल नेतृत्व पछि चयन गर्दै जाने बताइएको छ ।
यसअघि रविन्द्र मिश्र साझा पार्टीका संयोजक थिए भने उज्जल थापा विवेकशील पार्टीका संयोजक थिए । नयाँ पार्टीको चिन्ह भने तराजु रहने बताईएको छ ।
केन्द्रीय समितिमा को–को ?
नयाँ पार्टीको ३४ सदस्यीय केन्द्रीय समिति बनाइएको छ । नयाँ पाटीका केन्द्रीय सदस्यहरुमा क्रमश रविन्द्र मिश्र, उज्जल बहादुर थापा,अनुसा थापा, गोविन्दनारायण तिमल्सिना, निरुपमा यादव, मुमाराम खनाल, रमेश पौड्याल सुर्यराज आचार्य, अव्दुस मियाँ, अर्जुनसिंह ठकुरी, उमेद पुन, ओम अर्याल, किरणकृष्ण श्रेष्ठ, किशोर थापा रहेका छन् । त्यस्तै अन्य सदस्यहरुमा जीवन श्रेष्ठ, दिनेश प्रसाई, प्रकासचन्द्र परियार,पुकार बम, मानवी पौडेल, रञ्जु दर्शना न्यौपाने, रमेश महर्जन राम शाह, रेशु अर्याल, शशीविक्रम कार्की, सोभा शाक्य, सरोज धिताल, साधना राई सुवुना बस्नेत, सोभिता परियार र ज्ञानेन्द्र निरौला रहेका छन् । चारजना सदस्य भने पछि चयन गरिने सो पार्टीले जनाएको छ ।



