आइतबार दिउँसो मौसममा खराबी आएसँगै पोखरामा निकै बाक्लो असिना परेको छ। मध्यान्हसम्म घाम लागेको भए पनि त्यसपछि मौसममा खराबी आउँदै जाँदा वर्षासँगै बाक्लो असिना परेको हो।असिनाका कारण सडकहरू सेताम्मे बनेका छन् भने सवारी आवतजावतमा पनि समस्या भएको छ। वर्षा र असिनाका कारण मौसम समेत निकै चिसो बनेको छ।

भीषण असिना पानीले फुल्न लागेको काउली, आलुलगायतका तरकारी बालीमा निकै क्षति पुर्‍याएको पोखरा महानगरपालिका-३ नदिपुरकी सरिता तिमिल्सेनाले बताइन्।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आइतबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

देशको पहाडी भू–भागको केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।यस्तै आइतबार राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।