दोस्रो चरणको स्थानीय तहको निर्वाचन सकिएको एक महिना पुग्न केही दिन बाँकी छ । चुनाव सकिएको यतिका दिनपछि पनि गाउँघरमा यसको चर्चा सेलाएको छैन् । बजार चोक, चिया पसलमा मात्र होइन, गाउँमा चलिरहेको धान रोपाईंका क्रममा पनि चुनावकै चर्चा अझसम्म सेलाएको छैन ।
चुनावमा कसैले भारी मतले जिते । कसैले एक, दुई मतको झिनो अन्तरले जित हार भयो । तर, झापामा त्यो भन्दा अनौठो परिणाम आयो । जिल्लाको कमल गाउँपालिका प्रमुखका दुई उम्मेदवारले बराबर मत ल्याएपछि गोला नै तान्नुपर्ने अवस्था आयो ।
चुनावका बेला राजनीतिक दलले एक, दुई मतलाई खासै महत्व दिएको पाईंदैन । तर, एक भोटको महत्व कति हुन्छ भन्ने कुरा कमल गाउँपालिकाकी प्रमुख मेनका काफ्लेलाई राम्रोसित थाहा छ । उनी गोला तानेर विजयी बनिन् । मेनका एक नम्बर प्रदेशबाट स्थानीय तहको प्रमुख पदमा निर्वाचित हुने एक्ली महिला हुन् ।
गाउँपालिका प्रमुखमा एमालेकी उम्मेदवार मेनका र कांग्रेसका उम्मेदवार हुकुमसिंह राईले समान ८ हजार २ सय ७५ मत प्राप्त गरेका थिए । दुवै उम्मेद्वारको बराबर मत आएपछि केही समय अन्यौलता छाएपनि अन्ततः दुवै उम्मेद्वार गोला तान्न राजी भए ।
गोला तान्नुभन्दा अघि कांग्रेसका उम्मेदवार हुकुमसिंहले ज्योतिषिलाई आफ्नो भाग्य हेराउनसम्म भ्याए । भाग्य हेर्ने ज्योतिषिले उनलाई सल्लाह दिएछन्, ‘भगवान सम्झिँदै गोला तान्नु, तिमी जित्छौ ।’
हुकुमसिंह र मेनका गोला तान्न निर्वाचन अधिकृतको कार्यालयमा पसे । एकछिन त कसले पहिले गोला तान्ने भन्ने विषयमै अन्यौल भयो । वर्णानुक्रमअनुसार हुकुमभन्दा पहिले मेनुकाले गोला तान्ने पालो आयो । तर, हुकुमले ‘टस’ गर्नुपर्ने सर्त राखे र टस उनैले जिते ।
त्यसपछि के भयो ? मेनकाकै शब्दमाः
गोला तान्ने बेलामा कार्यालयभित्र मेरो गाउँकी एकजना बहिनी थिइन् । उनी कांग्रेसमा आवद्ध हुन् । तर, जब गोला तान्नुपर्ने अवस्था आयो, उनी मेरो छेउमा आइन् । र, दह्रोगरी च्याप्प मेरो हात समातिन मात्र केही बोल्न सकिनन्, न म नै बोल्न सकेँ । तर, उनले हात समातेर भन्न खोजेको कुरा मैले बुझे । उनको आसय मैले जित्नुपर्छ भन्ने थियो । मलाई त्यतिबेलै आफू जित्छु भन्ने लागिसकेको थियो ।
बाहिर ठूलो भिड थियो परिणाम के आउँछ भन्ने सबैलाई डर थियो । गोला तान्ने अवस्था कसरी आयो भन्नेमै सिंगो नेकपा एमाले अचम्ममा प¥यो । कमल गाउँपालिकामा एमाले बलियो थियो । तर, गोला तान्नुपर्ने अवस्था आउँदा नरमाइलो लाग्यो । मलाई आफ्नैले घात गरे भन्ने प्रष्ट भयो । यद्यपि, मतदाताले ढुक्क भएर गोला तान्न हौसाला दिइरहे ।
जिते त ठीकै छ, हारे कसरी बाहिर निस्किने हो भन्ने लाग्यो । हुकुमजीले पहिलो गोला तान्ने मौका पाउनुभयो । अर्कोपट्टि फर्किएर भगवान सम्झिँदै गोला झिक्नुभयो । तर, गोला तानेर त्यो कागजमा लेखिएको कुरा हेरेपछि उहाँको अनुहार एकाएक अँध्यारो भएजस्तो लाग्यो । उहाँ केही बोल्नुभएन । मेरा पालो आयो निर्वाचन अधिकृतले गोला ल्याइदिए । मैले खोलेर हेरेँ, जित मेरो भयो हुकुमजी फुत्त बाहिर निस्किनु भयो । तर, ढोकामै रोकेर मैले उहाँलाई ‘तपाईंलाई पनि बधाइ छ’ भनेँ । उहाँ केही नबोली जानुभयो ।
गोलाबाट हारेकोमा हुकुमजीलाई जति पिडा छ, यसरी जित्नु परेकोमा मलाई पनि कता कता पोलिरहेको छ । एक भोट मात्रै बढी आएको भए पनि त साँच्चै जितको अनुभव हुनेथियो ! एक भोटको महत्व कति हुँदोरहेछ भन्ने राम्रोसँग थाहा भयो । तर, मेरा समर्थकले मलाई हौसला दिइरहे । बाहिर निस्किसक्दा नाराजुलुस अनि विजयी ¥याली सुरु भइहाल्यो ।
यो क्षणले हरेक मतदातालाई आफ्नो भोट निर्णायक भएको महसुस पनि गरायो । मलाई भेट्ने हरेकले भन्नुहुन्छ– दिदी तपाईंले मेरो भोटले जित्नु भयो । राति घरमा सुतिरहेको बेला मैले सम्झिएँ, अहो !
मलाई एक भोट मात्रै कम आएको भए त हारिनेरहेछ । त्यसपछि अहिले म जो मतदाता देख्छु, लाग्छ म उसको मतले जितेकी हुँ । एकजना मतदाता अशक्त हुनुहुन्थ्यो । उहाँलाई परिवारका सदस्यले बोकेर मतदान केन्द्रसम्म ल्याइदिएका थिए । यदि उहाँ नआउनु भएको भए के हुन्थ्यो होला ?
यस्ता छन् उनका योजना
अब म जनताको प्रतिनिधि हुँ । जनतालाई छिटो छरितो सेवा दिनु मेरो पहिलो उद्देश्य हो । गाउँपालिकामा कर्मचारीतन्त्रको अन्त्य गरी ढिलासुस्तीरहित छिटो सेवा दिनेछु ।
अहिले वर्षातको मौसम छ । कमल गाउँपालिकामा बाढीले जनतालाई दुःख दिने गरेको छ । नदी नियन्त्रणमा म ध्यान दिँदैछु । महिला हिंसाको अन्त्य मेरो अर्को मेरो योजना हो ।
मेरा प्रतिस्पर्धी हुकुमसिंहजी पनि कमजोर मान्छे होइन, हामीले बराबर भोट ल्याएका हौं । म उहाँसँग सहकार्य गर्छु । मैले त निर्वाचन अधिकृतसँग बैठकमै भनेकी थिए ‘हामी आधा–आधा कार्यकाल चलाउँछौँ भनेर’ तर, नियममा त्यो रहेनछ । त्यसैले गोलाप्रथामा सहभागी हुनुप¥यो ।
को हुन् मेनका ?
२०३७ सालबाट राजनीतिमा होमिएकी थिइन मेनका । तत्कालिन नेकपा मालेबाट कम्युनिष्ट आन्दोलनमा प्रवेश गरेकी उनले विभिन्न समयमा पार्टीको विभिन्न पदमा बसेर काम गरिसकेकी छन् । उनी अहिले अखिल नेपाल महिला संघको केन्द्रीय सचिव हुन् ।
२०३९ सालमा स्वतन्त्र विद्यार्थी युनियन जनता मावि गौरादहको कोषाध्यक्ष भएकी मेनका २०४० सालमा पार्टीको एक्टिभ ग्रुपमा संगठित भइन् ।
२०४१ सालमा मालेको साधारण सदस्य भएकी उनले २०४२ बाटै पार्टीमा संगठित सदस्यता पाएसँगै २०४३ सालमा उनी भूमिगत भएको बताउँछिन ।
२०४४ सालमा अनेमसंघको पहिलो जिल्ला सम्मेलनबाट जिल्ला सदस्यमा निर्वाचित हुँदै २०४५ सालमा अनेमसंघ झापाकी सचिव बनिन् ।
२०४६ सालको संयुक्त जनआन्दोलनमा वाम मोर्चाको तर्फबाट सहभागिता जनाएकी मेनका २०४७ सालमा नेकपा मालेको जिल्ला सदस्य भइन् ।
२०४८ सालको अनेमसंघको दोश्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य हुँदै छैठौँ सम्मेलनबाट केन्द्रीय सचिव भइन् । २०६४ सालको संविधानसभा निर्वाचनमा झापा–२ बाट पराजित उनी २०७० को संविधानसभा निर्वाचनमा एमालेको समानुपातिक सूचिमा परेकी थिइन । लक्ष्मि काफ्ले/नया पत्रिका



