जनता दल (एकिकृत) का नेता नितिशकुमार भारतीय राजनीतिमा एक कुशल राजनीतिक खेलाडीका रुपमा देखापरेका छन् । बिहारका मुख्यमन्त्री नितिशकुमारले बुधबार पदबाट राजीनामा दिए र बिहिबार फेरि मुख्यमन्त्री पदको सपथग्रहण गरे ।
बिहारका अर्का चर्चित नेता लालु यादवसँग सहकार्य गरी मुख्यमन्त्री बनेका उनले उनै यादवसँग ‘डिभोर्स’ गरी केन्द्रमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) सँग ‘विवाह’ गरेका छन् । अर्थात् लालुको राष्ट्रिय जनता दल (आरजेडी) को समर्थनमा मुख्यमन्त्री भएका उनले लालुलाई छाडी अहिले मोदीलाई रोजे ।
र, २४ घण्टामा मुख्यमन्त्री, निवर्तमान मुख्यमन्त्री हुँदै फेरि मुख्यमन्त्री भए । सन् २०१५ नोभेम्बरमा भएको बिधानसभा निर्वाचनपछि नितिश र लालुले गठबन्धन सरकार चलाएका थिए । मुख्यमन्त्री नितिश थिए भने उपमुख्यमन्त्री लालुका छोरा तेजस्वी यादव थिए । अहिले लालुलाई छाड्नुको कारण थियो– उनका छोरा उपमुख्यमन्त्रीको भ्रष्टाचारको मुद्दा, जसमा सीबीआईले छानविन थालेको छ ।
बिहार बिधानसभाको निर्वाचनअघि मोदीको चुनावी प्रचारबिरुद्ध खरो उत्रिए नीतिश । भाजपाबिरुद्ध लालु यादवसँग गठबन्धन बनाए । तर अहिले २० महिनापछि सबै बैचारिक आक्षेप, घृणालाई र चुनावी युद्धलाई एकारित पन्छाएर फेरि मोदीकै शरणमा पुगे । मोदी र नितिशले सहकार्यको निर्णय लिए । मोदी र नितिशको यो सम्बन्धलाई केही भारतीय पत्रकारले सटिक संज्ञा दिए– ‘२० महिना अघि नमिलेको जेडीयुको डिएनए अहिले आएर भाजपासँग मिल्यो, यो डीएनएको बिषय हो ।’
दिल्ली र बिहारका राजनीतिक विश्लेषकहरुले भारतीय राजनीतिको यो तरलतामा दुई नाम सबैभन्दा बलियो भएको टिप्पणी गरेका छन् – ती अरु कोही नभएर नरेन्द्र मोदी र नितिशकुमार हुन् । दुबै आफ्ना योजनामा ‘केन्द्रिकृत’ र ‘परिणाममुखी’ छन् ।
केही विश्लेषकको भनाई छ मोदी र नितिशमा केही समानता पनि छन् । दुबै सुनौलो शासनका नेतृत्वकर्ता हुन् – ‘नो पर्मानेन्ट इनेमी, नो पर्मानेन्ट फ्रेण्ड्स ।’ अर्थात दुबैका स्थायी मित्र र स्थायी शत्रु छैनन् । अझ मोदीभन्दा नितिश ‘यु– टर्न’ का माहिर खेलाडी हुन् ।
जव बुधबार भ्रष्टाचारको मुद्दा उठाउँदै नितिशले राजीनामा दिए, तुरुन्तै मोदीले ट्वीटे – भ्रष्टाचारबिरुद्धको नितिशको लडाईमा भाजपाको साथ र समर्थन छ ।’ त्यतिमात्र गरेनन्, मोदीले तुरुन्तै भाजपाको बैठक डाक्न लगाई नितिशलाई भाजपाको समर्थन रहेको निर्णय पनि गराए । मोदीका मित्र अमित शाहले पार्टीगत नेतृत्व लिए । सरकार यसरी बन्यो ।
भारतीय राजनीतिमा बिहारको बिकासको नक्सा नै बदलेका नितिशिमा त्यो घमण्ड त छ नै, त्यससँगै उनको स्वच्छ र इमान्दार छबीले उनका राजनीतिक र बैचारिक छिद्रतालाई सजिलै छोपेको छ ।
नत्रभए विधानसभाको निर्वाचनमा मोदीबिरुद्ध ‘महागठबन्धन’ को अभियानकै नेतृत्व गरेका नितिश ती सबैलाई चटक्कै बिर्सेर किन मोदी गठबन्धनमा घुस्थे ? किनकि चलाख नितिशले देखे– ‘मोदीको क्रेज, मोदी सुनामी र मोदीमेनिया ।’
तर केही भारतीय संचारमाध्यमले भने भारतीय राष्ट्रिय राजनीतिमा मोदीको विकल्पका रुपमा उदाउँदै गरेका नितिशको यो कदमलाई आत्माघाती कदमका रुपमा चित्रित गरेका छन् ।
फष्टपोष्ट डटकममा सन्दीपन शर्मा लेख्छन्– नितिशलाई भारतीय राजनीतिक इतिहासको फूटनोटमा महान प्रतिबद्धता जनाउने तर अवसरवाद अँगान्ने नेताका रुपमा चिनिनेछ, जसले आफ्नो राजनीतिक अवशान आफैं रोजे । ’



