रौतहट प्रहरीले एक किलो अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।

वीरेन्द्र राजमार्गअन्तर्गत बम नहरबाट आज करिब रु ४६ लाख ४० हजार मूल्य बराबरको सुनसहित दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा गौर नगरपालिका–५ का २४ वर्षीय दिनानाथ गुप्ता र वडा नं ७ का २१ सरोज राय यादव रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

काठमाडौँबाट गौरतर्फ आउँदै गरेकोे भारतीय नम्बरको गाडीमा ठूलो परिमाणको सुन रहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा उक्त सुन बरामद भएको उपरीक्षक पोखरेलले बताए ।

पक्राउ गरिएको पहेलो धातु नेपाल सुनचाँदी व्यवसायी संघ रौतहटले परीक्षण गरेपछि सो धातु सुन नै भएको प्रमाणित गरे पछि उक्त सुन आन्तरिक राजस्व कार्यालय पथलैयालाइ बुझाइएको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए ।

अभियुक्तहरुले प्रयोग गरेको भारतीय नम्बर प्लेटको टाटा स्पेसिओ गोल्ड गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । रासस