
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का पूर्व केन्द्रीय सदस्य तथा शेर्पा समुदायका अगुवा नेता नाम्गेल शेर्पा नेकपा (एमाले)मा प्रवेश गरेका छन् । शेर्पालाई मंगलबार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गरेका हुन् ।
एमालेको विद्यार्थी राजनीतिबाट स्थापित शेर्पा २०५५ सालमा अनेरास्ववियूका अध्यक्ष थिए । अनेरास्ववियूको केन्द्रीय सदस्य हुदैं जिल्लाको राजनीतिमा सक्रिय शेर्पा एमाले विभाजनपछि मालेमा सक्रिय भए । माओवादी शान्ति प्रक्रियामा आएपछि माओवादी राजनीतिमा सक्रिय भए ।
शेर्पा माओवादी निकट शेर्पा मुक्ती मोर्चाको सचिवको जिम्मेवारीमा थिए । उनी शेर्पाहरुको साझा संस्था नेपाल शेर्पा संघको पूर्व महासचिव र शेर्पा विद्यार्थी मञ्चको पूर्वअध्यक्ष समेत हुन् । गृह जिल्ला रामेछापसँगै शेर्पा समुदायमा उनको गहिरो प्रभाव छ ।
शेर्पाले १८ वर्षपछि आफ्नो पुरानो पार्टी नेकपा एमालेमा फर्किन पाएकोमा गर्व लागेको बताए । उनले भने, ‘फेरि १८ वर्षपछि आफ्नो मुलघरमा फर्किएको छु । अब बाँकी रहेको समय एमाललाई दिन्छु ।’
शेर्पाले १८ वर्ष नेकपा माओवादीमा काम गर्ने अवसर दिएकोमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डलाई धन्यवाद भनेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘१८ वर्षसम्म काम गर्ने अवसर दिनु भएकोमा अध्यक्ष कमरेड प्रचण्डप्रति आभारी छु ।’