ताप्लेजुङ, चैत्र ८ गते । आर्थिक अनियमितताको आरोपमा जिल्ला अस्पताल ताप्लेजुङको फार्मेसी कक्षमा कार्यरत चारजना कर्मचारीलाई कामबाट निस्काशित गरिएको छ । फार्मेसीमा आर्थिक अनियमितता भएकोे विषय बाहिरिएपछि छानविनका लागि गठित समितिले अनियमितता गरेको निष्र्कष सहितको प्रतिवेदन बुझाएसँगै चार कर्मचारीलाई निस्काशित गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष घनेन्द्र मादेनले जानकारी दिए ।

 

अध्यक्ष मादेनका अनुसार व्यवस्थापन समितिको बैठकले गत चैत्र २ गते सहायक प्रमुख जिल्ला अधिकारी यमबहादुर भट्टराई संयोजक रहेको छानविन समिति गठन गरेको थियो । ५ दिनभित्र प्रतिवेदन बुझाउने गरि गठित समितिले फार्मेसीमा अनियमितता भएको निष्र्कष सहितको प्रतिवेदन बुझाएको हो । समितिले प्रतिवेदन बुझाए लगत्तै मंगलबार अस्पताल व्यवस्थापन समितिको बैठक बसेको थियो । बैठकमा समितिको प्रतिवेदनले दिएको सुझावलाई कार्यान्वयनको चरणमा लैजाने विषयमा समेत छलफल भएको अध्यक्ष मादेनले बताए । निस्काशित कर्मचारीले अव जिल्ला अस्पताल ताप्लेजुङमा काम गर्न पाउने छैनन् । तर उनीहरुलाई अन्य अस्पताल वा जिल्लामा गएर काम गर्न भने रोक लगाईएको छैन ।

चिकित्सकले बिरामीको पुर्जामा लेखिएको औषधीबाहेक फार्मेसीमा कार्यरत कर्मचारीले थप गरेर लेखेको विषय बाहिर आएको थियो । स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको रकम दाबी गर्न बीमा फाँटलाई कागजात पेश गरेर बिरामी, अस्पताल र बीमा बोर्डलाई नै आर्थिक भार पर्ने गरी अनियमितता गरेका हुन् । अनियमितता गरेको रकमलाई यकिन गरि असुल गर्ने वा नगर्ने भन्ने विषयमा विमा समितिको छानविन निष्र्कष पछि मात्रै टुङ्गो लाग्नेछ । सहायक प्रमुख जिल्ला अधिकारी यमबहादुर भट्टराईको संयोजकत्वमा अस्पतालका डाक्टर दीपेन्द्र बोखिम, प्रहरी निरीक्षक राकेश यादव, कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल दुर्गा थापा र स्वास्थ्य कार्यालयका विवेश थुलुङ सदस्य रहेको पाँच सदसिय छानबिन समिति गठन गरिएको थियो ।

यता आफुहरु असुरक्षित रहेको भन्दै काम रोकेका अस्पतालका डाक्टरहरु काममा फर्किएकाछन् । अस्पतालको क्षेत्रमा गएर गुण्डागर्दीको शैलीमा डाक्टरहरुलाई धम्की आएको भन्दै उनिहरुले सुरक्षाको माग गरेका थिए । जिल्ला समन्वय समिति प्रमुख समेत रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मादेनले डाक्टरहरुलाई सुरक्षाको प्रत्याभुत गराउँदै काममा फर्कन समितिले गरेको आग्रह अनुसार काममा फर्किएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय