बुबा स्थायी शिक्षक। दिदी, भिनाजु र फुपू सरकारी जागिरे। जीवन सुरक्षित बनाउन सरकारी जागिर नै गर्नुपर्छ भन्ने सोच राख्ने गुल्मीको एक परिवारमा जन्मिएकी थिइन् पुष्पा ज्ञवाली। पाँच दिदीबहिनीमध्ये चौथो सन्तान पुष्पा सानैदेखि लोक सेवाको चर्चा सुन्दै हुर्किइन्।

परिवारको यही प्रोत्साहनका कारण २३ वर्षीया पुष्पा लोक सेवाको परीक्षामा पहिलो नम्बरमा नाम निकाल्दै कृषि प्रसार अधिकृत बनेकी छन्। त्यो पनि पहिलो प्रयासमै।

उनी तीक्ष्ण विद्यार्थी थिइन्। कक्षामा सधैँ प्रथम हुन्थिन्। स्कुलमा एकसरो पढेकै उनका लागि पर्याप्त हुन्थ्यो। कहिल्यै घरमा ध्यान दिएर पढेको उनलाई सम्झना छैन। कक्षा १ देखि ३ सम्म तुवाँगा प्रावि र कक्षा चारदेखि एसएलसीसम्म जनबोध मावि गुल्मीमा पढिन्। कक्षा ७ र ८ मा दोस्रो भइन्। एसएलसीमा पनि विशिष्ट श्रेणी ल्याएर उत्तीर्ण भइन्।

प्राविसम्म आफ्नै बुबाले पढाएका थिए उनलाई। सुन्दर अक्षर लेख्न सक्ने बनाउन बुबाको ठूलो हात रहेको उनी बताउँछिन्।

कक्षा ४ पढ्न नयाँ स्कुलमा गएको पहिलो दिनको सम्झना ताजा छ उनलाई। जनबोध माविमा कक्षा ४ मा भर्ना हुँदा उनी सात वर्षकी मात्र थिइन्। सानै भएकाले कसैले पत्याएनन्।

‘साथीहरु धेरैले दुई कक्षामा पढ्ने विद्यार्थी चारमा पढ्न आइछ भनेर जिस्क्याए,’ उनी भन्छिन्, ‘सानी फुच्ची थिएँ। ४ मा पढ्ने भनेर कसैले पत्याउँथेनन्।’

तर, उनी पाँचमा जाँदा प्रथम भइन्। अनि झन् उनको हौसला बढ्यो। साथी र शिक्षक सबैले सानो उमेरमा त्यतिधेरै जान्ने भनेर फुर्क्याउँथे।

उनलाई सबैभन्दा सजिलो विषय गणित लाग्थ्यो।

‘हिसाब गर्न निकै रमाइलो लाग्थ्यो,’ उनी भन्छिन्, ‘त्यसैले पनि लोक सेवामा आईक्यूमा राम्रो गर्न सकियो।’

‘पढाइमा कहिल्यै दबाब लिएको महसुस भएन। रमाइलो मान्दै पढियो,’ उनी स्कुले जीवन सम्झिन्छिन्, ‘एसएसली परीक्षाको अघिल्लो दिन यसै बरालिएर हिँडेको, खाजा बनाएर खाएको अनि भोलिपल्ट परीक्षा दिन गएको याद आउँछ।’

उनले सरकारी स्कुलमा नेपाली माध्यमबाट पढेको भएर कक्षा ११ र १२ मा साइन्समा केही गाह्रो हुन्छ भनेर सचेत भइन्।

त्यसैले कक्षा १२ मा उनी जिल्ला टप भइन्। त्यसबेला उनले पूर्ण छात्रवृत्ति पाएकी थिइन्।

‘अंग्रेजी माध्यमबाट पढेर आएका अरु धेरै राम्रा विद्यार्थी थिए। उनीहरुलाई जितेर जिल्ला टप हुनु ठूलो कुरा थियो,’ उनी भन्छिन्।

त्यसपछि एमबीबीएस पढ्न भनेर उनी काठमाडौँ आइन्। नाम निस्केन। एक वर्ष यत्तिकै बित्यो। अनि चितवनमा बीएस्सी एजी पढ्न भनेर गइन्। दुई वर्ष त्यहाँ पनि टीयू टप भइन्।

‘अन्तिम वर्ष १ प्रतिशत नपुग्दा गोल्ड मेडलिस्ट हुन पाइनँ,’ उनी भन्छिन्, ‘बिएस्सी एजी सकिएपछि धेरै साथीहरू विदेशको तयारी गर्न थाले। मैले पनि दुई महिनाको लागि १५ हजार तिरेर जीआरई तयारी गरेँ।’

‘सूत्र बनाएर पढेँ’
भाषा पढ्दापढ्दै यता लोकसेवा खुल्यो। ७ वटा कोटा थिए। त्यसमध्ये पाँच वटा महिलाका लािग थिए। यसअघि कहिल्यै कृषिमा यति धेरै कोटा खुलेको थिएन। त्यसैले उनी लोकसेवाको तयारी गर्न थालिन्। पाँच महिना मेहनत गरिन्। तर, लोकसेवाका लागि भनेर कुनै पनि लेखकको पुस्तक पढिनन्। समसामयिक कुरा सरकारी वेबसाइटमा हेर्थिन्। अनि आफैँले नोट बनाएर पढ्थिन्।

‘पुस्तकमा त्यति भर लाग्दैन, एउटामा एउटा उत्तर हुन्छ, अर्कोमा अर्कै उत्तर हुन्छ,’ उनी भन्छिन्, ‘जीके, आईक्यूमा भने बच्चादेखिकै पढाइले सहयोग पुग्यो। कहिल्यै घोकेर पढिन्। मौलिक हकहरु पढ्दा क्लासको रोल नम्बरसँग जोडेर सम्झन्थे।’

पुष्पाका दिदीहरु पनि गीत बनाएर पढ्थे। त्यो देख्दा उनलाई रमाइलो लाग्थ्यो।

‘कत्ति प्रश्नहरु त दिदीहरुले पढेको सुनेरै कण्ठ भइसकेको रहेछ,’ उनी भन्छिन्, ‘सार्क, यूएनओजस्ता अन्तर्राष्ट्रिय संघसंस्था पढेको र जानेको पत्तै भएन।’

समय व्यवस्थापन गरेर, कुनै तनाव नलिई, निश्चित योजना बनाउने र जसरी पनि नाम निकाल्न सकिन्छ भन्ने अडानका साथ पढ्ने हो भने लोक सेवा पास गर्न गाह्रो नहुने उनको भनाइ छ।

लोकसेवा तयारीका पाँच महिना उनी बुटवलमा कोठा लिएर बसेकी थिइन्। बिहानै ५ बजेदेखि १० बजेसम्म सामान्य ज्ञान पढ्ने, खाना पकाउँदै आईक्यू सोलुसनको भिडियोहरु युट्युबमा हेर्न थाल्थिन्। दिनभर विषयगत परीक्षाको तयारी गर्थिन्। बेलुका भएपछि फेरि आईक्यू सोलुसन गर्न थाल्थिन्।

बेलाबेला सामाजिक सञ्जाल हेरिरहन्थिन्। नयाँ केही भेटिए टिपेर राख्थिन्।

आफ्नो मेहनत र परिवारको साथले यो सफलता सम्भव भएको उनको भनाइ छ।

‘फाइनान्सियल समस्या कहिल्यै बेहोर्नुपरेन। दिदीभिनाजु र बुबाले धेरै सहयोग गर्नुभयो,’ उनी भन्छिन्।

आत्मविश्वासले जितेको अन्तर्वार्ता
लोक सेवाको फारम भर्नुअगावै बुबाले भनेका थिए, ‘यसले त सजिलै लोकसेवा पास गर्छे।’

नभन्दै लिखितमा नाम निस्कियो। अन्तर्वार्ता दिन जाँदा पनि उनलाई डर थिएन। किनभने बोल्नमा उनी सानैदेखि अघि सर्थिन्।

‘अन्तर्वार्तामा पनि कुनै समस्या भएन,’ उनी हाँस्दै भन्छिन्, ‘कहिलेकाहीँ त गड गिफ्टेड हो कि जस्तो पनि लाग्छ। बोल्न कुनै डर लाग्दैन। मसँग निकै आत्मविश्वास छ।’

उनलाई अन्तर्वार्तामा कृषिको इतिहास सोधिएको थियो। २ मिनेटमै उनले सय वर्षदेखिको इतिहास भनेर भ्याइन्। त्यसपछि आलुको विषयमा सोधिएको थियो। त्यो झन् सहज भयो।

‘मेरो अन्तर्वार्ता लिने सर पनि आलुकै विषयमा काम गरेको हुनुहुँदो रहेछ। मैले पनि त्यही फिल्डमा काम गरेँ अनि सहज भयो,’ उनले भनिन्।

विद्यावारिधि गर्ने र सचिव बन्ने सपना
सानो छँदा धेरै जना छोरी मात्र भएको घर भने गाउँसमाजले हेपेको उनी सम्झिरहन्छिन्।

‘बुबाले कहिल्यै तँ छोरी होस्, छोरीहरू कमजोर हुन्छन् भन्नुभएन। घरमा माया थियो,’ उनी भन्छिन्, ‘तर समाजले भनिरहन्थ्यो– छोरी धेरै छन् कसरी पढ्लान्रु’

अधिकृतमा नाम निकालेपछि अब विदेशमा गएर विद्यावारिधि गर्ने र सचिव बन्ने उनको सपना छ।

अहिले उनी मास्टर्सको पहिलो सेमेस्टर अध्ययनरत छिन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय