काठमाडौं। सशस्त्र प्रहरी बलका वर्तमान (आईजीपी) शैलेन्द्र खनाल यही चैत २८ गते अनिवार्य अवकाशमा जाने भएपछि नयाँ नियुक्ति हुने आइजीपी पनि २० दिनमै घर जानेछन्।
सशस्त्र प्रहरी बलमा रहेका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरु पुष्पराम केसी र रामशरण पौडेल मध्ये एक जनालाई २० दिनका लागि आईजीपी चयन गर्नुपर्ने अवस्था आएको छ।
२०४९ वैशाख १९ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट नेपाल प्रहरीमा सेवा शुरू गरेका दुवै जनाले आगामी वैशाख १८ मा अनिवार्य अवकाश पाउँदैछन्। ३० वर्षे सेवा अवधिका कारण उनीहरु अनिवार्य अवकाशमा जान लागेका हुन्।
सशस्त्र प्रहरीको मेरिट लिस्टमा केसी एक नम्बर र पौडेल दुई नम्बरमा छन्। अहिले केसीले कार्य तथा सीमा सुरक्षा विभाग सम्हालिरहेका छन् भने पौडेलले मानव स्रोत विभाग सम्हालेका छन्।
उनीहरु मध्ये एक जना आइजीपी भएमा हाल रहेका डिआइजीहरु मध्ये एक जनालाई एआइजी बनाउनु पर्नेछ। जुन एआइजी आगामी वैशाख १९ गतेदेखि नयाँ आइजीपी हुनेछन्।
अवकाशमा गएपछि भने सरकारले अहिले भएका प्रहरी नायव महानीरिक्षक (डिआइजी)हरु मध्येबाट एआइजी हुने भएकाले एआइजी हुनपनि डिआइजीबीच प्रतिस्पर्धा रहेको छ।
आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनअगावै सशस्त्रमा अर्को आईजीपी चयन गर्नुपर्ने हुन्छ। अब बन्ने आईजीपीले वैशाख १८ मा अवकाश पाएपछि हालका डीआईजीमध्ये एकजना आईजीपी बन्ने छन्।
त्यतिबेला आईजीपी बन्नका लागि अहिले एआईजीमा बढुवा हुन दौडधूप तीव्र छ। सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम एआईजीको लाइनमा छन्।
मेरिटको पहिलो नम्बरमा अर्याल, दोस्रोमा पौडेल र तेस्रोमा गौतम छन्। मेरिटको आधारमा हेर्दा अर्याल एआईजीमा बढुवा भएर वैशाख १८ गते आईजीपी हुने देखिन्छ।
अर्यालले २ नम्बर छिन्नमस्ता बाहिनीको प्रमुख, उपत्यका बाहिनीको प्रमुख र सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी समेत सम्हालिसकेका छन्। त्यसैगरी पौडेल र गौतम एआइजी हुन लागिरहेका छन्। उनीहरु पनि आइजीपीको दौडमा रहेका कारण एआइजी हुन लागिरहेका हुन्।



