कांग्रेसले आफ्नो नीति, नेतृत्व, संगठन र कार्यकर्ताको ‘अस्तित्वको लडाइँ’का रूपमा आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनलाई लिने भएको छ ।
पहिलो र दोस्रो चरणको निर्वाचनमा एमालेभन्दा ५० स्थानीय तह कम जितेको कांग्रेसले तेस्रो चरणमा कम्तीमा एक सिट भए पनि बढी जित्नै पर्ने रणनीति अपनाउने स्रोतले जनाएको छ ।
आगामी असोज २ गते प्रदेश नम्बर २ का १२७ स्थानीय तहमा तेस्रो चरणको निर्वाचन हुँदै छ । अघिल्लो शनिबारदेखि तीन दिन बसेको केन्द्रीय कार्यसमिति बैठकमा पहिलो र दोस्रो चरणको निर्वाचनको समीक्षाका साथै तेस्रो चरणको निर्वाचनका लागि रणनीति तय गर्ने सम्बन्धमा छलफल भएको थियो ।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि अधिकांश केन्दीय सदस्यले बैठकमा ‘कांग्रेसको अभियान, प्र्रदेश नम्बर २ को निर्वाचन’ भन्ने प्रतिबद्धता जनाएका थिए ।
प्रदेश २ लाई केन्द्र बनाउँदै तेस्रो चरणको निर्वाचन हुने आठ जिल्लाका १२७ स्थानीय तहमा प्रतिनिधित्व गर्नेदेखि प्रधानमन्त्री देउवासम्मको सहभागितामा यही साउन १९ र २० गते धनुषामा बृहत् भेला आयोजना गर्न लागिएको कांग्रेस नेतासमेत रहेका कृषि विकासमन्त्री रामकृष्ण यादवले जानकारी गराए ।
प्रदेश २ मा रहेको विद्रोही मधेसी शक्ति, राष्ट्रिय जनता पार्टी र मधेसी समुदायको मागका रूपमा रहेको संविधान संशोधन, सिंहदरबारमा मधेसीको प्रतिनिधित्व रहेको सन्देश दिनेजस्ता कार्य गर्ने÷गराउने पक्षमा कांग्रेस गएकाले एमाले पराजित हुने दाबी कृषिमन्त्री यादवले गरे ।
सरकार सञ्चालनमा महत्वपूर्ण भूमिकामा रहेका विमलेन्द्र निधि, आफूसहित खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवलगायत एक दर्जन सांसद भएको धनुषामा पार्टीको जिल्ला सभापति चयन हुन नसक्नु कमजोरी रहेको उनले स्वीकार गरे । ‘धनुषा कांग्रेसको विवादले निकास पाउने आधार र सम्भावना भने केही समययता बन्दै गएको छ’, उनले भने ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर ६ का सांसद सुरेन्द्रप्रसाद यादवले शनिबार बिहान मात्र देउवाले आफूलगायत केही नेतासँग प्रदेश २ को निर्वाचन कुनै हालतमा जित्नुपर्ने र त्यसका लागि कुनै पनि प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको सुनाए ।
प्रदेश नम्बर २ मा विगतको जस्तो गल्ती मबाट हुँदैन । केन्द्रबाट टिकट वितरण गर्दिनँ । तपाईंहरूकै सल्लाह र सुझावमा उम्मेदवार चयन हुनेछु, देउवाको भनाइ उद्धृत गर्दै सांसद यादवले भने, ‘आठै जिल्लामा केही दिनभित्रै केन्द्रीय नेतालाई पर्यवेक्षकका रूपमा खटाइनेछ ।’
उनले मधेसका माग र त्यहाँको समुदायमा रहेकालाई टिकटका लागि सिफारिस गर्ने उल्लेख गर्दै पार्टी र सरकार सञ्चालकको कुरा नसुन्न देउवालाई आग्रह गरेका थिए ।
केन्द्रीय सदस्य कल्याण गुरुङले प्रदेश २ मा टोल भेलासम्म गर्ने र त्यहाँको मागलाई तत्काल सरकारमार्फत पूरा गर्ने गरी निर्वाचन रणनीति बनाइएको खुलाए ।
उक्त क्षेत्रमा एमाले कमजोर रहेको उनको दाबी छ । संविधान संशोधन हुनुपर्नेलगायत राजपाका माग पूरा हुनुपर्छ भन्ने मान्यतामा रहेको उनले जानकारी दिए ।
यही साउन १९ गते धनुषामा हुने बृहत् भेला कांग्रेसको निर्वाचन परिणामको ‘जनमत’ का रूपमै लिइएको दाबी उनले गरे । (अन्नपूर्ण पोष्ट दैनिक)



