
झापा — झापाको एक पालिकामा नेकपा एमाले र नेपाली कांग्रेसबिच चुनाबी गठबन्धन भएको छ । कचनकवल गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेबीच चुनावी गठबन्धन बनेको छ ।
अध्यक्ष कांग्रेसलाई र उपाध्यक्ष एमालेलाई दिने गरि गठबन्धन बनेको हो । अध्यक्षमा कांग्रेसका कालेन्द्र राजवंशी र उपाध्यक्षमा एमालेका नवराज भट्टराई उठ्ने भएका छन् । गाउँपालिकाका ७ वटा वडामा वडा अध्यक्ष र सदस्य मिलाउने प्रयास भइरहेको अध्यक्षका उम्मेदवार राजवंशीले जानकारी दिए ।
कचनकवलमा कांग्रेस र एमालेबीच चुनावी गठबनधन बनेको एमाले जिल्ला अध्यक्ष दीपक कार्कीले पनि पुष्टि गरे । उनले वडा अध्यक्ष र सदस्यहरुको भागबन्डाको विषयमा छलफल चलिरहेको जानकारी दिए । कचनकवलमा राप्रपाको वर्चस्व तोड्न कांग्रेस र एमालेले गठबन्धन गरेका हुन् । राप्रपाका तर्फबाट बहालबाला अध्यक्ष अन्जार आलम र उपाध्यक्ष निमसरी राजवंशी उठ्ने भएका छन् ।
दमकमा कांग्रेसले तोक्यो वडाध्यक्षका उम्मेद्वार, गठबन्धनमा सहमतिको प्रयास भने जारी
यता, बैशाख ३० को स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसले झापाको दमकमा वडाध्यक्षका उम्मेद्वारहरु चयन गरेको छ ।
नगर समितिका एक जना पदाधिकारीका अनुसार वडा नम्बर १ मा गजु देवान, वडा नम्बर २ मा उद्धव दाहाल, ३ मा डिल्ली चापागाईँ, ४ मा पुन्य दाहाल, ५ मा धनबहादुर भट्टराई, ६ मा मेनुका बुढाथोकी, ७ मा भुमिराज राई, ८ मा रवि केसी, ९ मा हरि सुवेदी र वडा नम्बर १० मा राजेन्द्र भण्डारीलाई चयन गरेको छ ।
दमकमा गठबन्धन नभएको अवस्थामा कांग्रेसले एक्लै उम्मेद्वार तय गरेको हो । कांग्रेसका बार्ता समितिका सदस्यका अनुसार सहमतिका लागि बार्ता जारी छ । उनका अनुसार सहमति नभएको खण्डमा कांग्रेसले एक्लै चुनावमा जाने छ ।
दमकमा राप्रपा, कांग्रेस विच गठबन्धनको तयारी भएपनि सत्ता साझेदार माओवादीले प्रमुख मागेपछी गठबन्धनमा संकट देखिएको हो । सत्ता साझेदार जसपा र नेकपा एकिकृत समाजवादी भने दमकमा गठबन्धनबाट बाहिर निस्केका छन् ।