विश्वका सर्वाधिक धनी व्यक्ति एलन मस्कले ट्वीटरलाई ४४ अर्ब डलरमा खरिद गर्ने प्रस्ताव राखेका छन् जसलाई कम्पनीले स्वीकार गरेको छ ।

मस्कले दुई हप्ता अघि ट्वीटरमा ‘उत्कृष्ट क्षमता’ भएको र त्यसलाई आफूले अनलक गर्न चाहेको बताएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ट्वीटरले जब अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पलाई प्लेटफर्मबाट प्रतिबन्ध गरेको थियो, त्यति नै बेला मस्क, जो आफूलाई वाक स्वतन्त्रताका पक्षधर बताउँछन्, ले उनी यो मञ्चलाई सुधार्न चाहेको बताएका थिए ।

मस्कले हिजो राती एक बयान जारी गर्दै ट्वीट गरे, ‘वाक स्वतन्त्रता लोकतन्त्रको आधारशिला हो र ट्वीटर डिजिटल संसारको एउटा टाउन स्क्वायर हो जहाँ मानवताको भविष्यका लागि महत्वपूर्ण कुराहरु बहस गरिन्छ । म पनि नयाँ सुविधासहित ट्वीटरलाई पहिलेको भन्दा उत्कृष्ट बनाउन चाहन्छु । मानिसहरुलाई यो प्लेटफर्मप्रति विश्वास बढाउनका लागि एल्गोरिदमलाई ओपन–सोर्स बनाउनु, स्प्याम बट्सलाई हटाउनु र सबैको पहिचानलाई प्रमाणित गर्नु यसमा समावेश हुनेछ ।’

यस सम्झौतासँगै सार्वजनिक रुपमा कारोबार गर्ने कम्पनी ट्वीटर अब मस्कको स्वामित्वमा रहेको नीजि कम्पनी हुनेछ ।

ट्वीटरले दिएको जानकारी अनुसार कम्पनीको मूल्य ५४.२० डलर प्रति सेयरको हिसाबले लगाइएको छ जुन कुल ४४ अर्ब डलर हुनेछ । कम्पनीले अब सेयरधनीहरुलाई सम्झौता अनुमोदन गर्न मतदान गर्न आग्रह गर्ने बताएको छ ।

कम्पनीका सिइओ पराग अग्रवालले एउटा ट्वीटमा भने, ‘ट्वीटरको एउटा उद्देश्य र सान्दर्भिकता छ जसले पूरा विश्वलाई प्रभावित पार्ने गर्छ । हामीलाई हाम्रो टिममाथि गहिरो गर्व छ र हामी पहिले भन्दा धेरै महत्वपूर्ण कुरा गर्न प्रेरित छौँ ।’

फोब्र्स पत्रिकाका अनुसार एलन मस्क विश्वको सबैभन्दा धनी व्यक्ति हुन्, जसको कुल सम्पत्ति २७३.६ बिलियन डलर छ । उनको धेरै सम्पत्ति इलेक्ट्रिक वाहन निर्माता टेस्लामा उनको हिस्सेदारीको कारण हो । उनीसँग एयरोस्पेस फर्म स्पेसएक्सको पनि स्वामित्व छ ।