मत पत्र च्यातिएपछि रोकिएको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन मतदान हुने भएको छ ।
आइतबार सर्वोच्च अदालतले यसअघि निर्वाचन आयोगले गरेको निर्णयलाई सदर गर्दै विवादित १९ नम्बर वडामा पुन मतदानको फैसला सुनाएको हो ।जेठ १४ गते मतगणना भइरहेको समयमा मतगणनामा सहभागी नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेसँगै भरतपुरको मतगणना रोकिएको थियो ।
मत पत्र च्यात्ने कामममा संलग्न माओवादी केन्द्रका दुई कार्यकर्ता मधु न्यौपाने र द्रोण शिवाकोटी जनही १र१ लाख धरौटीमा छुटेका छन् ।
मतगणना रोकिएपछि के भयो ?
मत गणना स्थगन भएसँगै निर्वाचन आयोगले सहमहान्यायधीवक्ता गीताप्रसाद तिमल्सिना को नेतृत्वमा अनुगमन टोलि भरतपुर पठाएको थियो । उक्त टोलीले त्यहाँको अवस्थाबारे आयोगमा प्रतिवेदन बुझाएपछि निर्वाचन आयोगले जिल्ला निर्वाचन अधिकृतलाई च्यातिएका मतको एकिन विवरण पठाउन निर्देशन दिएको थियो ।
प्रमुख निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने, जिल्ला प्रहरी प्रमुख, राजनीतिक दलका उम्मेदवार र प्रतिनिधिको रोहबरमा च्यातिएको मतगणना गर्दा ९० मत च्यातिएको अवस्थामा पाइएको थियो । त्यसबारे आयोगमा जानकारी पठाएसँगै निर्वाचन आयोगले लामो छलफल र बैठक पछि निर्वाचन रोकिएको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय गरेको हो ।
मत गतगणना रोकिएपछि नेकपा माओवादीले अविलम्ब मतगणनाको माग गरेर दवाव दिँदै आएको थियो । पुन मतगणनाको माग गर्दै एमालेले संसद अवरुद्ध समेत गरेको थियो ।
त्यसैबीच नेकपा एमालेका तर्फवाट वडा सदस्यका उम्मेदवार गुञ्जमान बीकले सर्वोच्च अदालतमा पुन मतदान गराउने निर्णय खारेजीको माग गर्दै रिट दायर गरेका थिए । जसको फैसला करिब २ महिनापछि आएको छ र, रिट निवेदक वीकको रिट खारेज गर्ने ठहर गर्दै सर्वोच्चले १९ नम्बर वडामा पुनः मतदान गर्ने फैसला गरेको छ ।
मतपत्र च्यातिनु अघिसम्म कसको कति भोट ?
भरतपुर महानगरपालिकामा कांग्रेसको समर्थनमा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पुत्री रेणु दाहाल र एमालेकी देवी ज्ञवालीबिच मेयरमा प्रतिसपर्धा छ ।
मतगणना रोकिने बेलासम्म ज्ञवाली र दाहालको मतअन्तर ७ सय ३३ थियो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार देवी ज्ञवालीले ४१ हजार ६ सय ४१ र रेणु दाहालले ४० हजार ९ सय ८ मत पाएकी थिइन् । अब भरतपुरमा १९ नम्बर वडामा पुन: चुनाव हुने छ भने २० नम्बर वडाको मतगणाना हुने छ ।










