नेपाल प्रहरीका असईलाइ हत्या गरेको आरोपमा खानियावास गाउँपालिका धादिङकी स्थानीय युवती तारा थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।नियन्त्रणमा परेकी ताराका श्रीमान् शान्तलाल तामाङ भने फरार रहेका छन् ।
खनियावास गाउँपालिकाको दार्खास्थित ईलाका प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक वीरबहादुर गुरुङको गत शुक्रबार राति प्रहरीचौकी नजिकैको मकैबारीमा बोलाई दाउरा, लाठी प्रयोग गरी हत्या गरिएको प्रारम्भिक अध्ययनले देखाएको प्रहरी उपरीक्षक शरदकुमार खत्रीले बताए ।
‘साँझसम्म प्रहरी चौकीमा मासु भात खाएर टेन्टमा सुतेको असईलाई परिचितले नै बोलाएर छाता, टर्चलाईट लिएर घटनास्थल गएको देखिन्छ । व्यक्तिगत मोबाईलको कल डिटेल लिन अदालती आदेशले केही ढिलाई भएको भए पनि आइतबारसम्म फोन गरी बाहिर बोलाउने सबै पत्ता लाग्ने’जिल्ला प्रहरी प्रमुख खत्रीले बताए ।
गत ४ महिनादेखि उक्त प्रहरी चौकीमा कार्यरत गुरुङको गाउँमा कसैसंग पनि नराम्रो सम्बन्ध नरहेको सम्बन्धीत पक्षले बताएको छ। प्रहरीचौकी रहेको दार्खाको बस्ती पनि जनजातिहरुकै बाहुल्यता रहेकोले भाषालगायत कुरामा प्रहरीलाई समस्या थिएन ।
घटनापछि अनुसन्धानका लागि पुगेका प्रहरी नायव उपरीक्षक दिपेन्द्रसिंह पंजियारले शव परीक्षणका लागी शुक्रबार नै हेलिकप्टरमार्फत राजधानीस्थित शिक्षण अस्पताल पठाई मृतक गुरुङको स्थानीयसँगको अन्तर्सम्बन्धको खोजबिन गरेका थिए ।
खोजबिनका क्रममा भूकम्प प्रतिरोधी भवन निर्माण गर्ने संस्थाका प्रतिनिधि शान्तलाल तामाङ घरमा नबस्ने र मृतकसँगको अवैध सम्बन्धपछिको अपराधका आशंकामा तारा थापालाई नियन्त्रणमा लिइएको र फरार श्रीमान्को खोजी भरहेको प्रहरीले जनाएको छ । एस काठमण्डु










