भरतपुर महानगरपालिका वडा नम्बर १९ को चुनाव यसै हप्ता हुने भएको छ । यही साउन १९ गते बिहीबार गर्ने गरी निर्वाचन आयोगले तयारी सुरु गरेको हो ।
निर्वाचन आयोग स्रोतका अनुसार, यस सम्बन्धमा छलफल गर्न आयोगले सोमबार पदाधिकारीको बैठक बोलाएको छ । बैठकले नयाँ मितिको विषयमा निर्णय लिनेछ ।
‘हामी अनौपचारिक छलफलमा आजबाटै जुटिसकेका छौँ, सोमबारको बैठकबाट निर्णय गर्छौँ, सम्भवतः साउन १९ गते बिहीबार नै पुनः मतदान हुन्छ ।’- आयोग स्रोतले भन्यो ।
साउन १९ प्रस्ताव गरिने एक आयुक्तले बताए । छलफलले अर्को मिति पनि प्रस्ताव गरे एकदूइ दिन पर सर्न सक्ने उनको भनाइ छ । तर एकसाताभित्र निर्वाचन हुने उनले बताए ।
भरतपुर १९ मा पुनः मतदान गर्ने आफ्नो निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि निर्वाचन आयोग चुनावको तयारीमा जुटेको हो ।



