EN
मई १३ २०२२, ६:४६:२५ बिहान

स्थानीय तह निर्वाचन
३६ लाख ५९ हजार २९९ जनाले पहिलोपल्ट मतदान गर्दै, एक जनालाई कति लाग्छ समय ?

नयाँ पेज
३० बैशाख २०७९, शुक्रबार
facebook sharing buttonmessenger sharing buttonwhatsapp sharing buttontwitter sharing buttonemail sharing button

काठमाडौं । पाँच वर्षपछि आज (शुक्रबार) देशभर एकै साथ स्थानीय तहको निर्वाचन हुँदैछ । देशभर रहेका ७५३ स्थानीय तहमा एकसाथ निर्वाचन हुन लागेको हो ।

निर्वाचन आयोगले चैत १३ गते सार्वजनिक गरेको मतदाता नामावली अनुसार देशभर कुल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका छन् । जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला मतदाता रहेका छन् । १८३ अन्य मतदाता छन् ।

आयोगको तथ्यांक अनुसार गएको स्थानीय तह निर्वाचन भन्दा ३६ लाख ५९ हजार २९९ मतदाता थपिएका छन् । यी मतदाताले पहिलो पटक आफ्नो मताधिकार प्रयोग गर्दैछन् । यसपटक निर्वाचन आयोगले हिजो अर्थात् वैशाख २९ गते १८ वर्ष पुगेर मतादाता नामावलीमा नाम भएकाहरूलाई मतदान प्रक्रियामा समावेश गरेको हो ।

आयोगको तथ्याङ्क अनुसार २०७४ सालमा भएको निर्वाचनमा एक करोड ४० लाख ७४ हजार ४२४ मतदाता रहेका थिए । यो निर्वाचनमा ३६ लाख बढी मतदाता थपिएका हुन् । आयोगले सार्वजनिक गरेको सूचीअनुसार सबैभन्दा बढी मतदाता मोरङमा छन् । जहाँ ७ लाख १५ हजार २२३ जना मतदाता छन् । सबैभन्दा कम मनाङमा ६,४९६ मतदाता छन् ।

एक मतदातालाई भोट हाल्न कति समय लाग्छ ?
आज शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि मतदान हुँदैछ । संघ र प्रदेशको निर्वाचनमा जस्तो एउटा उम्मेदवारका लागि एउटा मात्र स्वस्तिक छाप लगाउने नभई यो निर्वाचनमा प्रमुख उपप्रमुख वडाध्यक्षदेखि सदस्यसम्म सात जना उम्मेदवारका लागि ७ छाप लगाउनुपर्ने हुन्छ ।

कम्तिमा एक मिनेटभित्र एक जना मतदाताले मतदान गरिसक्ने निर्वाचन आयोगले अनुमान गरेको छ । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार एक जनाले कम्तिमा एक मिनेटभित्र मतदान गरिसक्ने आंकलन गरिएका बताए ।
सहप्रवक्ता अर्यालले भने, ‘अहिलेको यो स्थानीय तह निर्वाचनमा मतदान गर्न सरदर ४० देखि ५० सेकेण्ड लाग्नसक्छ । बढीमा एक मिनेट लाग्नसक्छ ।’ उनका अनुसार मतदान केन्द्रमा नाम रुजु गरेर मतपत्र लिएपछि मतदान गरेर फर्किनेसम्मका सबै कार्यका लागि कूल ५ मिनेटभन्दा बढी लाग्दैन ।

मतदान स्थलको दृष्य हेर्दा एक जना मतदाताको प्रवेशदेखि बाहिरिने बेलासम्म प्रक्रियामा ७-८ मिनेट भन्दा पर समय नजाने उनको भनाइ छ ।

उनले भने, ‘कुनै मतदाताले सुरुमा आफ्नो नाम रुजु गराएको हुन्छ । ऊभन्दा अगाडिकोले नङमा मसी लगाइरहेको हुन्छ । त्यसभन्दा अगाडिको मतपत्र लिएको हुन्छ । ऊभन्दा अगाडि गोप्य मतदान केन्द्रमा जान प्रतिक्षामा बसेको हुन्छ । अर्को चाहिँ मतपत्रमा स्वस्तिक छाप हानिरहेको हुन्छ । अर्को व्यक्ति त्यही बेलामा मतपेटिकामा मतपत्र खसालेर बाहिरिन लागिरहेको हुन्छ । ७-८ मिनेटमा ७-८ जना मानिस मतदानको विभिन्न चरणमा रहेका हुन्छन् । एउटा मतपेटिकामा सरदर १ हजार जनाले मतदान गरेका हुन्छन् ।’

देशभर १० हजार ७ सय ५६ मतदान स्थल रहेका रहेका छन् । यसैबीच मतदाता नामावलीमा विवरण छ भने मतदाता परिचयपत्र नभएकाले पनि भोट हाल्न पाउने व्यवस्था गरिएको छ । यसअघि आयोगले स्पष्ट निणर्य नगर्दा हराएकाले के गर्ने भन्नेमा द्विविधा हुँदै आएकोमा निर्वाचनको अन्तिम समयमा आयोगले परिचय खुल्ने कागजातबाट पनि मतदान गर्न पाउने व्यवस्था गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय