काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत यातायात व्यवस्था विभागले बागमती र गण्डकी प्रदेशमा दर्ता कायम रहेका सवारी साधनहरूमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको छ ।

विभागले साउन १ देखि ती प्रदेशमा दर्ता कायम रहेका सवारी साधनहरूमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट राख्न आग्रह गरेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

इम्बोस्ड नम्बर प्लेट नराखे साउन १ गतेदेखि ट्राफिक प्रहरीले अनुगमन गर्ने र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरिने विभागको चेतावनी छ।

सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्न २०७८ कात्तिक २२ मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरिएको विभागको भनाइ छ।

बागमती प्रदेशको ललितपुरस्थित एकान्तकुना र काठमाडौंस्थित जुर्जुधारा तथा गण्डकी प्रदेशको कास्कीस्थित पोखरामा रहेका यातायात व्यवस्था कार्यालयहरूमा इम्बोस्ड नम्बर जडानसम्बन्धी विभागको निर्देशन र संघीय कानून कार्यान्वयनमा नआएकोमा पनि विभागले ध्यानाकर्षण भएको जनाएको छ।

मोटरसाइकललगायत साना ठूला सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न पनि सवारी साधन धनीहरूलाई विभागले आग्रह गरेको छ।

साउन १ गतेपछि ट्राफिक प्रहरीले सडकमा चेकजाँच गर्ने र इम्बोस्ड नम्बर प्लेट राखेको नपाइएमा कारबाही गरिने चेतावनी विभागको छ।