‘काठमाडौं जलवायु कार्य सप्ताह’लाई मुख्य अतिथिका रूपमा सम्बोधन गर्दै काठमाडौं क्षेत्र नं. ८ का सांसदसमेत रहेका श्रेष्ठले नदी संरक्षण, बाढी नियन्त्रण तथा सहरी वातावरण सुधारका लागि सङ्घीय सरकारका तर्फबाट विभिन्न कार्ययोजना सार्वजनिक गरेका हुन्।

सम्बोधनका क्रममा श्रेष्ठले आफ्नो बाल्यकाल सम्झिँदै कुनै समय विष्णुमती र बागमती नदीको स्वच्छ पानी पिउने, नुहाउने र नदी किनारका हरिया खेत तथा चराचुरुङ्गीको आवाजबीच हुर्किएको अनुभव सुनाए। तर, आफ्नै जीवनकालमा ती नदीहरू प्रदूषित र सङ्कटग्रस्त बन्दै गएको देख्दा आफू भावुक हुने गरेको उनले बताए।

पछिल्ला केही दशकमा जथाभाबी कङ्क्रिटका संरचना निर्माण हुँदा खेत, पोखरी र खुला जमिन मासिएको, सहरी तापक्रम बढेको तथा धुलो र धुवाँका कारण शताब्दीयौँ पुराना मन्दिर र सम्पदासमेत कालो हुँदै गएको उनले उल्लेख गरे। वर्षाको पानी जमिनमा सोसिने प्राकृतिक क्षेत्र नहुँदा काठमाडौंमा बाढीको जोखिमसमेत भयावह बन्दै गएको उनको भनाइ थियो।

जलवायु परिवर्तनले विद्यमान सङ्कटलाई थप गम्भीर बनाएको उल्लेख गर्दै श्रेष्ठले ४६ दिनको अवधिमा तीनवटा नदी करिडोरमा ठूला ढुङ्गा र गेग्रानसहितको बाढी आउनु, हिमपहिरो जानु र हिमनदी पग्लिनु गम्भीर चेतावनी भएको बताए। तीव्र सहरीकरण भइरहेका देशका अन्य नगरपालिकाहरूलाई काठमाडौंले गरेका गल्तीबाट पाठ सिक्दै समयमै नदी, पोखरी र खुला जमिन संरक्षण गर्न उनले आग्रह गरे।

पछिल्ला चार वर्षमा लोप हुने अवस्थामा पुगेका पुराना ढुङ्गेधारा (हिटी) र राजकुलो पुनर्जीवित गर्दै भूमिगत जलभण्डार संरक्षणमा भूमिका खेलेको भन्दै उनले काठमाडौं महानगरपालिका, कार्यवाहक प्रमुख तथा वडा अध्यक्षहरूको प्रशंसासमेत गरे।

बाढीको पूर्वसूचना र हिमनदी अनुगमन प्रणाली विकास गरिने

कार्यवाहक प्रधानमन्त्री श्रेष्ठले बाढी आउनुअघि नै वडा तथा घरपरिवारसम्म सूचना पुर्‍याउने गरी पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाइने बताए। यसका लागि जल तथा मौसम विज्ञान विभागमार्फत वर्षा मापन, सहरी बाढीको मोडलिङ तथा पूर्वसूचना प्रणाली विकास गर्न महानगरपालिका र अन्य सहरसँग सहकार्य गरिने उनले जानकारी दिए।

त्यसैगरी, झुन्डिएका हिमचट्टान र पग्लिँदै गरेका हिमनदीको अवस्थाबारे अनुगमन गर्न विज्ञ, वैज्ञानिक, अभियन्ता तथा युवाहरूलाई सहभागी गराइने उनको भनाइ थियो।

नदी संरक्षणमा प्रकृतिमा आधारित योजना

नदी संरक्षणका लागि नदीलाई कङ्क्रिटका पर्खालभित्र सीमित गर्नुको सट्टा प्राकृतिक रूपमा फैलिन र खुम्चिन दिने प्रकृतिमैत्री योजना अघि सारिएको श्रेष्ठले बताए। विष्णुद्वार र वाग्द्वारका मुहान तथा नागार्जुन र गोदावरी क्षेत्रको संरक्षणलाई प्राथमिकता दिइने उनले उल्लेख गरे।

नदीले प्रशासनिक सिमाना नचिन्ने भएकाले जलस्रोत तथा सिँचाइ विभाग र भौतिक पूर्वाधार मन्त्रालयले काठमाडौं महानगरपालिकासहित नदी प्रणालीसँग जोडिएका आसपासका १७ वटा नगरपालिकासँग समन्वय गर्नेछन्। आगामी मनसुनअघि नै संरक्षणका काम सुरु गर्ने योजना रहेको उनले जानकारी दिए।

सहरलाई शीतल बनाउने र भूमिगत पानी पुनर्भरण गर्ने योजना

काठमाडौंको बढ्दो तापक्रम नियन्त्रण गर्न घरघरमा आकाशे पानी सङ्कलन, पानी जमिनमा सोस्ने पैदलमार्ग निर्माण तथा खुला स्थान र मुख्य सडक किनारमा रैथाने प्रजातिका रूख रोप्ने योजना अघि सारिएको छ।

यसका लागि महानगरपालिकाले आवश्यक स्थान पहिचान गरेपछि सङ्घीय सरकारले आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने श्रेष्ठले बताए।

वायु प्रदूषण नियन्त्रणमा विद्युतीय यातायातलाई प्राथमिकता

वायु प्रदूषण नियन्त्रणका लागि राष्ट्रिय निर्धारित योगदानअनुरूप विद्युतीय सार्वजनिक यातायातको विस्तार, स्वच्छ इँटाभट्टाको प्रवर्द्धन तथा फोहोर दहन नियन्त्रणमा जोड दिइने उनले बताए।

वायु गुणस्तरसम्बन्धी तथ्याङ्क नागरिकका लागि खुला राखिने र जाडो तथा तुवाँलोको मौसम सुरु हुनुअघि नै अर्थात् अक्टोबरअघि प्रदूषण नियन्त्रणका आवश्यक तयारी पूरा गरिने उनको भनाइ थियो।

फोहोरबाट ऊर्जा उत्पादन र जलवायु वित्त परिचालन गरिने

फोहोर व्यवस्थापनलाई ऊर्जा उत्पादनसँग जोड्ने योजनाअन्तर्गत वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र काठमाडौं महानगरपालिकाबीच भएको समझदारी तथा टेकु बायोग्यास प्लान्टलाई शीघ्र सञ्चालनमा ल्याउन पहल गरिने श्रेष्ठले बताए। यसका लागि घरबाटै फोहोर वर्गीकरण गर्न उनले नागरिकलाई आह्वान गरे।

त्यसैगरी, ‘जलवायु वित्त शिखर सम्मेलन’मार्फत हरित बन्ड तथा जलवायु कोष परिचालन गर्न नगर विकास कोषसँग सहकार्य गरिने उनले जानकारी दिए। भोटेकोशी विपद्पछि पुनर्लाभका लागि छिटो परिचालन गर्न सकिने कोषको आवश्यकता थप महसुस भएको उनको भनाइ थियो।

युवा प्रविधि र परम्परागत ज्ञानलाई जोड्ने योजना

नवीन प्रविधिको विकासमा युवाहरूले देखाएको सक्रियताको प्रशंसा गर्दै श्रेष्ठले कक्षा १२ का विद्यार्थीहरूले मोबाइल नेटवर्कबिना नै विपद्को सूचना पठाउन सक्ने सञ्चार प्रणाली विकास गरेको उदाहरण प्रस्तुत गरे।

युवाहरूको प्रविधिसम्बन्धी ज्ञान र ज्येष्ठ नागरिकहरूसँग रहेको परम्परागत जलप्रणालीको अनुभवलाई एकीकृत गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए।

जलवायु न्याय र प्राकृतिक सम्पदाको संरक्षणमा जोड

जलवायु न्यायको विषय उठाउँदै श्रेष्ठले विश्वव्यापी कार्बन उत्सर्जनमा नेपालको योगदान नगण्य भए पनि हिमनदी पग्लिने, बाढी र पहिरोजस्ता विपद्को ठूलो मार नेपालीले खेप्नुपरेको बताए।

नदी किनारका बासिन्दाको सुरक्षासँगै बोल्न नसक्ने नदी, पानीका मुहान, रूख, चराचुरुङ्गी र वन्यजन्तुको बासस्थान संरक्षण गर्नु नै वास्तविक जलवायु न्याय भएको उनको भनाइ थियो।

सम्बोधनको अन्त्यमा श्रेष्ठले रूखै रूखले भरिएका शीतल सडक, १५ मिनेटमै पैदल हिँडेर पुग्न सकिने ऐतिहासिक टोल र बहाल, चोरी भएका मूर्ति फिर्ता, साइकल लेन तथा चराचुरुङ्गीको चिरबिरले गुञ्जिने स्वच्छ बागमती–विष्णुमती करिडोरसहितको काठमाडौंको परिकल्पना प्रस्तुत गरे।

काठमाडौं वरपरका जंगल र राष्ट्रिय निकुञ्जको पारिस्थितिक सन्तुलन कायम राख्दै पार्कमा अभिभावकले ढुक्कसँग घाम ताप्न सक्ने, चोकमा बालबालिका सुरक्षित रूपमा खेल्न सक्ने र हरियालीयुक्त आधुनिक व्यावसायिक केन्द्रहरू फस्टाउने सहर निर्माण गर्न उनले सबैलाई आह्वान गरे।

काठमाडौंलाई केवल भौतिक पूर्वाधारले भरिएको सहर नभई प्रकृति, संस्कृति र मानव जीवनबीच सन्तुलन कायम भएको सुरक्षित तथा बस्नयोग्य सहर बनाउनु आवश्यक रहेको श्रेष्ठको सन्देश थियो।