बिष्णुप्रसाद पोखरेल
दमक । झापाको दमकमा रहेको चक्रपथ निर्माणमा निर्माण ब्यवसायिले लापरवाही गरेको भेटिएको छ । सडक निर्माणको क्रममा जून मापदण्ड अनुसार काम गर्नु पर्ने हो त्यो नगरेको पाईएको भेटिएको हो ।
पीच गर्नु अघि क्रसरबाट पेलेको गिटी बेसको रुपमा कम्तिमा १५ से.मि. हाल्नु पर्नेमा ८ से.मि.देखि १२ से.मि.सम्म पात्र पाईएको भेटिएको हो ।
आफ्नो वाडमा बनिरहेको सडक गुणस्तरहीन भएको आशंका लागेर सडक डिभिजन कार्यालय दमकमा आफूहरुले गुनासो गरेको र प्राविधिक आएर जाँच गर्दा सम्झौता अनुसार काम नभएको पाइएको दमक वडा नं. ७ का वडासदस्य श्याम कार्कीले बताए । उनका अनुसार गिटीमात्र छर्ने काम देखेर आफूहरुले गुनासो गरेको जनाए ।

सडक डिभिजन कार्यालय दमकका प्राविधिक सन्जिव श्रेष्ठका अनुसार गुनासो आएपछि गएर जाँच गर्दा केहि ठाँउमा सम्झौता अनुसार गिटी नहालेको पाइएपछि त्यसलाइ सुधार गर्न लगाइएको छ ।
आवश्यकताभन्दा बढि चौडाइ बढाउदा केहि ठाँउमा ८ देखि १२ से.मि.सम्म गिटी हालेको पाइएपछि १५ से.मि. पुर्याउन निर्देशन दिइएको र अहिले त्यो काम भइरहेको पनि उनको भनाइ छ ।
दमकको १० वटै वाडलाइ छोएको चक्रपथलाइ दमकको महत्वकाँक्षी योजनाको रुपमा हेरिएको छ । अहिले ४ किलोमिटर क्षेत्रमा चक्रपथ पीच गर्ने काम याक्थुमहामा निर्माण सेवा फिदिमले लिएको छ ।
यहि काम गुणस्तरहीन भएको भन्दै स्थानीय उपभोक्ताले गुनासो गरेका थिए । सडक डिभिजन कार्यालयले ४ किलोमिटर सडकको कालोपत्रेका लागि ४ करोड २३ लाखमा टेण्डर आह्वान गरेकोमा २ करोड ९६ लाखमा याक्थुमहाम निर्माण सेवाले टेण्डर पारेर काम शुरु गरेको थियो ।

असार मसान्त अघि नै काम सक्नु पर्ने भएपनि अहिलेसम्म करिब ५० प्रतिशतमात्र काम भएको पनि चक्रपथमा संलग्न प्राविधिकहरुले बताएकाछन् ।
समयमा काम पनि नसकिएको भन्दै निर्माण ब्यवसायिले छिटो काम सक्नका लागि आफूहरुले सचेत गराएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ ।
आर्थिक बर्ष २०५४/०५५ बाट निर्माण शुरु भएको चक्रपथमा यो नै अहिलेसम्मको सबैभन्दा ठूलो काम हो । केहि समय अघिमात्र चक्रपथको बिस्तृत परियोजना बिवरण बनेको थियो ।
करिक ३७ किलोमिटर लामो रहेको चक्रपथको स्तरउन्नती सहित ट्रयाक नखोलिएका स्थानमा यसै बर्षभित्र ट्रयाक खोलिसकिने बताइन्छ ।

यसैबीच मेची राजमार्ग अन्तरगत चारआली–चन्द्रगढी सडक खण्ड निर्माणमा ढिलाइ भएको भन्दै स्थानीय उपभोक्ताले प्रशासन समक्ष ध्यानकर्षण गराएकाछन् ।
सडक निर्माणको काम अलपत्र बनाएर निर्माण ब्यवसायि वेपत्ता भएपछि स्थानीयहरुले जिल्ला प्रशासन कार्यालय झापाको ध्यानकर्षण गराएकाहुन् ।
नेपाली काँग्रेस झापा क्षेत्र नम्बर ३ का सभापति गणेश पोखरेलको नेतृत्वमा गएको टोलीले चारआली–चन्द्रगढी सडक खण्डको ठेक्का कालिका, कनकाई र याक्थुमहाङ जेभीले भ्याटसहित ४१ करोड ६१ लाख ८४ हजार १ सय ४२ रुपैयाँमा २० किलोमिटर लम्बाईसहित ९ मिटर चौडाई भएको कालोपत्रे निर्माण गर्ने गरी कामको जिम्मा लिएको बताइएको छ । तत्काल साहयक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद तिवारी सडक कार्यालयको ध्यानकर्षण गराएको पोखरेलले जानकारी दिए ।



