
झापा । गत जेठ २ मा मेचीनगर–९ का एक ७० वर्षीय पेना किसानको हात्तीको आक्रमणबाट मृत्यु भयो । थोप्ले विरान सामुदायिक वन क्षेत्रमा आएका हात्तीले टिमाइ खोला बगरमा हिँडिरहेका उनलाई एक्कासि आक्रमण गरेको थियो । गम्भीर घाइते भएका उनको उपचारका क्रममा मेची अञ्चल अस्पताल भद्रपुरमा मृत्यु भएको हो ।
हात्तीको आक्रमणबाट झुना दनुवार घाइते भएकी थिइन् । अघिल्लो वर्षको असोज १४ मा जंगली हात्तीको आक्रमणबाट बिर्तामोड–८ की ५० वर्षीय लतुमाई मर्डीको मृत्यु भएको थियो । चन्द्रगढी सामुदायिक वनमा निगुरो टिपिरहेका बेला उनलाई हात्तीले आक्रमण गरेको थियो । गत माघ १७ मा मेचीनगर–१३ चारआलीका ७१ वर्षीय खम्बासिंह कार्की हात्तीको आक्रमणको सिकार भए । घरनजिकै आएका हूललाई धपाउन खोज्दा बिहान ३ बजे हात्ती उनीमाथि जाई लागेको थियो । उपचारका क्रममा उनको मृत्यु भएको थियो । झापामा मानव–हात्तीबीचको द्वन्द्व वर्षौं पुरानो हो । बस्ती बढेर जंगल पसिरहेको छ । आफ्नो पुरानो बाटो नबिर्सने हात्तीका हूल मान्छेसँग जोरी खोजिरहेछ । द्वन्द्वका क्रममा मानिससँगै हात्ती पनि मारिएका छन् ।
०७६ असार १४ मा झापाको हल्दीबारी गाउँपालिका–४ स्थित रणकाली सामुदायिक वनमा एउटा जंगली हात्ती मृत फेला परेको थियो । त्यसलाई करेन्ट लगाएर मारिएको अनुमान डिभिजन वन कार्यालय झापाको थियो । तर, सामुदायिक वनको उत्तरी क्षेत्रको बस्तीलाई हात्तीबाट जोगाउने उद्देश्यले लगाएको विद्युतीय तारबारमा हात्ती अल्झिएर मरेको दाबी स्थानीयको थियो । लगत्तै ०७६ माघ १२ मा कचनकवल गाउँपालिका–३ को हरियाली सामुदायिक वनभित्र अर्को हात्ती मृत भेटियो । उक्त हात्ती करिब २० दिनअघि नै मारिएका थियो । वन कार्यालयका कर्मचारीले ढिला थाहा पाए । हात्तीलाई विद्युतीय झड्का दिएर मारिएको आशंका वन कार्यालयको थियो ।
०७७ कात्तिक १४ मा उत्तर बुद्धशान्ति गाउँपालिका–५ पाँचपोखरी सामुदायिक वनमा एउटा भाले हात्ती मरेको भेटियो । उक्त हात्ती करिब ४०–४५ वर्ष उमेरको हुनुपर्ने अनुमान डिभिजन वन कार्यालय झापाका वनकर्मीले गरेका थिए । स्थानीय बासिन्दाको पटकपटकको आक्रमणमा परी लामो समयदेखि त्यो हात्ती घाइते थियो । त्यसको जीउको पछाडिको भागमा भाला जस्तो धारिलो हतियारले प्रहार गरेको चोट देखिन्थ्यो । ‘बालीनाली खान गाउँ पसेपछि स्थानीयले हात्तीलाई आक्रमण गरेको अनुमान गर्न सकिन्छ,’ डिभिजन वनका तत्कालीन डीएफओ विष्णुलाल घिमिरेले भनेका थिए, ‘मान्छेको आक्रमणकै कारण हात्ती मरेको अनुमान गर्न गाह्रो छैन ।’
माथिका यी दृष्टान्तहरूले झापामा मानव–हात्तीबीचको टकराव कस्तो छ भन्ने कुरा प्रस्ट झल्किन्छ । यो सीमावर्ती जिल्लामा जब साँझ पर्छ, हात्तीका बथान मेची तरेर यता लम्किन थाल्छ । ‘मेचीपारि भारत, पश्चिम बंगालको केराबारी वन क्षेत्रमा दिनभरि बस्छन्, साँझ पर्न थालेपछि हाम्रातिर आउँछन्,’ लामो समयदेखि मानव–हात्ती द्वन्द्वलाई नजिकबाट बुझिरहेका बाहुनडाँगीका शंकर लुइँटेल भन्छन्, ‘सयौंका संख्यामा आउने हात्तीले वितण्डा नमच्चाएको दिन हुँदैन ।’ यो सिलसिला दशकौंदेखि जारी छ । यही क्रममा बाली जोगाउन किसानले हात्तीलाई लखेट्ने र हात्ती पनि ज्यान जोगाउन मान्छेमाथि जाइलाग्ने गर्छ ।
डिभिजन वन कार्यालयका अनुसार डेढ दशकमा हात्तीको आक्रमणबाट झापामा ५३ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा अधिकांश वृद्ध र महिला छन् । पाँच जना भारतीय पनि हात्ती आक्रमणको सिकार भएका छन् । यो अवधिमा १३ वटा हात्ती मारिएका छन् । अधिकांश हात्तीको मृत्युको कारण विद्युतीय करेन्ट छ । ‘बालीनाली क्षतिबाट आजित भएका किसानहरू हात्तीप्रति धेरै आक्रामक बन्ने गरेका छन्,’ वन कार्यालयका एक पूर्वडीएफओले सुनाए, ‘त्यही आक्रोशका बीच हात्तीलाई करेन्ट लगाउनेसम्मको काम हुने गरेको भए पनि यो कुरा गोप्य रहन्छ ।’
वन्यजन्तु संरक्षण ऐनमा हात्तीलगायत वन्यजन्तु मार्न नपाइने उल्लेख छ । तर, हात्ती संरक्षण गर्ने कि मान्छे बचाउने भन्ने कुराले स्थानीय अलमलमा छन् । हात्तीबारे विद्यावारिधि गरेका डा। नरेन्द्र प्रधानले जति बढी बिच्क्यायो हात्ती उति आक्रामक बन्ने गरेको बताउँछन् । उनले भने ‘घोच्ने, कुट्ने, हिर्काउने गर्नाले हात्ती आक्रामक हुन्छन् र क्षति बढी गर्छन् ।’ उनका अनुसार यसो गर्दा हात्ती र मान्छेबीचको द्वन्द्व झन् बढाएको छ ।
सरकारले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोगसम्बन्धी निर्देशिका २०६६ असार २१ मा जारी गरेको थियो । निर्देशिकाले सुरुमा वन्यजन्तुको आक्रमणबाट मृत्यु भएमा डेढ लाख, सख्त घाइतेलाई ५० हजार र सामान्य घाइतेलाई पाँच हजार रुपैयाँ क्षतिपूर्ति दिने व्यवस्था गरेको थियो । निर्देशिकालाई २०६९ मा सरकारले संशोधन गरी मृत्यु भएकाको हकमा दोब्बर क्षतिपूर्तिको व्यवस्था गरी ३ लाख बनाएको थियो । हाल उक्त रकम वृद्धि गरी १० लाख बनाइएको डिभिजन वनका सहायक वन अधिकृत ओमनाथ भट्टराईले बताए ।
मान्छे र हात्तीबीचको द्वन्द्व घटाउन उपायहरू नगरिएका भने होइनन् । विश्व बैंकको १ करोड २० लाख लगानीमा सरकारले हात्ती रोक्न बाहुनडाँगी क्षेत्रमा बनाएको विद्युतीय तारबार लगाएको थियो । त्यसले हात्ती रोक्न छाडेको अनुभव बाहुनडाँगीका बासिन्दाको छ । हात्ती नियन्त्रणका लागि नेपालमै पहिलो पटक नयाँ प्रविधिको ‘अफसेट फेन्सिङ’ निर्माण गरिएको पाँच वर्षपछि यो प्रविधि पनि निष्प्रभावी हुन थालेको हो । यसअघि भारत, भुटानलगायत मुलुकमा यो प्रविधिको अभ्यास गरिएको थियो । सौर्य ऊर्जामार्फत छिटो छिटो करेन्ट प्रवाह हुने व्यवस्था मिलाइने भएकाले हात्तीले छुँदा विद्युतीय झड्का लाग्ने गर्छ । तर, पछिल्लो समय भने मर्मतसम्भार अभावमा उक्त प्रविधि नै काम नलाग्ने अवस्थामा पुगेको लुइँटेल बताउँछन् । ‘अब यो तारबारमा हात्ती अव्यस्त हुन थालेको छ,’ उनले भने, ‘अनेक उपाय अपनाएर हात्ती तारबार नाघेर खेतबारी र बस्तीभित्र छिर्न थालेका छन् ।’
इलामको जिर्मले–३ दुधेदेखि झापाको मेचीनगर–१० नकलबन्दा क्षेत्रसम्म करिब १८ किलोमिटर क्षेत्रमा तारबार गरिएको छ । मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि बाहुनडाँगीमा काम गरिसकेका अमेरिकाको फ्लोरिडा विश्वविद्यालयका प्राध्यापक ब्रिजेश थापाका अनुसार विद्युतीय तारबार र अन्य उपायले मानव–हात्ती द्वन्द्वको दीर्घकालीन समाधान नहुने दाबी गर्छन् । उनी भन्छन्, ‘विद्युतीय तारबार दीर्घकालीन समाधानको उपाय बन्न सक्दैन ।’ उनका अनुसार भारतपट्टि पनि तारबार गरिए हात्ती नियन्त्रणको सम्भावना देखिन्छ । नत्र समस्या ज्युँका त्युँ रहन्छ ।
हात्ती नियन्त्रणका लागि नेपाल–भारतका अधिकारीबीच उच्चस्तरीय सहमति जरुरी रहेको उनले बताए । उनको अनुभवमा एउटा देशबाट गएको हात्तीले अर्को देशमा गएर मानवीय तथा भौतिक क्षति गर्नु आश्चर्यजनक कुरा हो । ‘विश्वलाई चकित तुल्याउने कुरा भनेकै यही हो,’ थापा भन्छन्, ‘त्यसको निराकरणका लागि दुई देशीय सहमति हुनैपर्छ ।’
झापाको हात्ती समस्यालाई नजिकबाट बुझेका मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले हात्ती नियन्त्रणका लागि भनेर गरिएका सबै लगानी बालुवामा पानी खन्याएझैं भएको टिप्पणी गर्दै तीनै तहको सरकारको स्रोतबाट दीर्घकालीन समस्याको उपाय खोजिने जनाए । भन्छन्, ‘लगानी धेरै भएको छ तर प्रतिफल शून्य छ । हामी अब लगानीअनुसारको प्रतिफलको खोजीमा छौं ।’
दशकअघिसम्म हात्तीका हूल नेपाली भूभागमा धेरै आउने खास समय जेठदेखि असोजसम्म थियो । तर, अहिले बाह्रैमास आइरहन्छ । स्थानीयले आफ्नो अधिकांश समय हात्ती धपाउनमै व्यतित गर्ने गरेका छन् । ‘दिनभरि सुत्यो, रातभरि हात्ती धपायो,’ स्थानीय नवीन काफ्लेले भने, ‘पाकेको मकै भित्र्याउन अहिले धौधौ परेको छ । कान्तिपुर अनलाइन