जेठ १४ गते मध्यराति भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणना जारी रहेका बेला माओवादीका दुई जना कार्यकर्ताले गणना भैरहेको मतपत्र एक्कासी च्याते ।
जिल्ला निर्वाचन अधिकृतको कार्यालयले त्यसलगत्तै मतगणना स्थगित गर्दै त्यसको विवरण निर्वाचन आयोगमा पठायो । निर्वाचन आयोगले पुनः मतदानको निर्णय गर्यो ।
आयोगको उक्त निर्णयविरुद्ध नेकपा एमालेका कार्यकर्ता अदालत पुगे । सर्वोच्च अदालतले पनि करिब दुईमहिनापछि भरतपुर १९ मा मतपत्र च्यातिएकाले पुनः मतदान नै गर्नुपर्ने फैसला सुनायो ।
त्यसपछि अहिले चितवन १९ मा मत माग्न उमेदवारहरु व्यस्त छन् । नेकपा एमालेले सर्वोच्चको यो फैसलालाई दुर्भाग्य भनेको छ भने माओवादी केन्द्रले स्वागत गरेको छ ।
भरतपुर महानगरमा माओवादी–कांग्रेस गठबन्धनका तर्फबाट रेणु दाहाल र एमालेका तर्फबाट देवी ज्ञवाली मेयर पदका उमेदवार छन् ।
प्रस्तुत छ, एमालेका उमेदवार ज्ञवालीसँग सर्वोच्चको फैसला, चुनावी तयारी लगायतका विषयमा अक्षर काकाले टेलिफोनमा गरेको कुराकानीको अंशः
करिब दुई महिनापछि सर्वोच्चले भरतपुर मुद्दामा फैसला गरेको छ, उमेदवारका हिसाबले अदालतको फैसलालाई कसरी हेर्नुभएको छ ?
यसमा हामीले प्रतिक्रिया दिइसकेका छौँ । यो इतिहासकै दुर्भाग्यपूर्ण फैसला हो । नेकपा माओवादी केन्द्र र कांग्रेसका तर्फबाट मतगणनामा बसेका प्रतिनिधिले जितिसकेको उमेदवारलाई हराउने बद्नियत राखी, पुनः निर्वाचन गराउने ध्येयका साथ मत पत्र च्यातेका थिए ।
तर, कानुनको छिद्र पहिल्याएर, मतगणनास्थल कब्जामा लिएको त्यहाँका मूख्य निर्वाचन अधिकृतको जालसाजीलाई आधार बनाइ जसरी अदालतले अपराधीको मनोबल उकास्ने, गलत नजिर स्थापित गर्ने, अपराधीको कुकर्मलाई संवैधानिक मान्यता प्रदान गर्ने गरी फैसला गरेको छ, त्यसले भरतपुरबासी अत्यन्त चिन्तित भएका छन् । विशेष गरी भरतपुर–१९ नम्बरका जनता अदालतको फैसलाबाट दुःखी छन् ।
फैसला हाम्रो तथा भरतपुरबासीको विपक्षमा भए पनि नेकपा एमाले सम्मानित अदालतको आदेशलाई मान्छ । आगामी दिनमा अदालतले आफ्नो कामकारवाहीको मुल्याङ्कन गर्दा यस प्रकरणमा हामीले गल्ती ग¥यौँ । गलत नजिर बसाल्यौँ भनेर भोलिका दिनमा यस्तो त्रूटीपूर्ण फैसला हुन नदिन अदालत र श्रीमान्जीहरू सचेत हुनुहुनेछ भन्नेमा विश्वस्त छौँ हामी ।
यस्तो फैसला कसरी आयो होला त ? दुनियाँलाई प्रस्ट छ । राज्यसत्ताको दवाव र प्रभाव यो फैसलामा प्रष्ट देखिन्छ । राजकीय हस्तक्षेपको नमुना नै हो यो । यसले स्वतन्त्र न्यायपालिकामाथि प्रश्न उठाएको छ । र यस किसिमका फैसलाले स्वतन्त्र न्यायपालिकामाथि बारम्बार उठ्ने गरेका प्रश्नहरूको निरूपण पनि गर्दैन । अर्को कुरा, अदालतमाथि जनताको विश्वास पनि क्षीण बन्दै जान्छ ।
पार्टीले दलगत भागवण्डाका आधारमा पार्टीको पोल्टाबाट न्यायाधीश नियुक्ति गर्दा पनि अदालतको निर्णयप्रति अविश्वास बढ्दै गएको मान्न सकिँदैन ?
त्यो पनि धेरै हदसम्म हो । यो प्रकरणबाट हामीले पनि पाठ सिक्नुपर्छ । न्यायाधीश नियुक्त गर्दा दृढता, इमान्दारिता, क्षमता, निर्भिकता, स्वाधीनतालाई बलियो मापदण्ड बनाउनुपर्छ । नकि पार्टीगत दलगत भागवण्डा ।
निर्वाचन प्रचार–प्रसार त थालिसक्नुभयो होला, कस्तो छ तयारी ?
अदालतका मुद्दा विचाराधीन रहेकै बेलामा पनि हामी दुई महिनादेखि जनताकै बीचमा छौँ । जनताले बारम्बार चिन्ता व्यक्त गरिरहनुहुन्छ– जितिसकेको उमेदवारलाई बदनियतपूर्वक रोक्ने चेस्टा गरियो । मतपत्र च्यातियो । फेरि मतदान भयो भने मतपत्र च्यात्नेलाई नै त कसरी भोट हाल्नू ? हामीले पनि जनताको बीचमा आफ्नो कुरा राखेका छौँ । मतपत्र च्यात्ने घटना, अदालतको आदेश घामजत्तिकै छर्लङ्ग भएकाले जनतालाई अतिरिक्त बुझाउनुपर्छ जस्तो लाग्दैन ।
यसबाहेक जनताको अन्य धारणा के छ ?
तपाईंहरूलाई अवगतै छ– तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नी छोरी रेणु दाहाललाई मेयर पदमा जिताउन चितवनमा ‘राज्य आतंक’ नै सिर्जना गरे । कानुन, विधि, पद्दति मिचेर अर्बौं रकम रकमान्तर गरेर चितवनमा विकास छरि टोपले पनि । बाटोघाटोमा अलकत्रा मिल्क्याए ।
तर, १५ दिन टिकेन ती पिच । आफ्नो राजनीति जोगाउन गरेको राज्यसत्ताको चरम दुरुपयोगबाट भरतपुरबासी आजित छन् । त्यो पीडा मतपत्रमार्फत पोख्छन् जस्तो मलाई लाग्छ ।
अर्को कुरा तपाईंलाई भनूँ– तत्कालीन प्रधानमन्त्री प्रचण्डले राज्यसत्ताको दुरुपयोग गरि गोरखाका अधिकारी थरका ठेकेदारलाई सीएफएल चिम किन्न टेन्डर मिलाइदिएका थिए ।
र त्यसबापत आएको कमिसन देउवाको भागमासमेत परेको थियो । त्यही पैसाका कारण देउवाले रेणुलाई मेयर पदमा समर्थन गरेको कुरा मिडियामा आइसकेको छ । यसकार त्यहाँका मतदाता रुष्ट छन् ।
आइजीपी प्रकरण, लोकमान सिंक कार्कीविरुद्ध महाभियोग लगाउने प्रस्ताव, प्रधानन्यायाधीशविरुद्धको महाभियोग दता आदिमा उनीहरूको नियत उदांगिएकै हो ।
निर्वाचनको अरू तयारी के छ ?
आजको सञ्चारको युग हो । पत्रपत्रिका, रेडियो टेलिभिजनमार्फत मैले मेरो कुरा राखिरहेको छु । १९ नम्बर वडामामात्रै मतदान भएकाले त्यहाँ सिंगो पार्टी पंक्ति जनताको घर आँगनमा छ । मतपत्र च्यात्नेलाईजस्तो मुन्टो लुकाएर हिँड्नुपर्ने अप्ठ्यारो हामीलाई छैन । जनताले सत्तारूढको हर्कत हामीमाथि परेको अन्यायका बारेमा राम्रोसँग बुझेका छन् ।
मतदाताहरूलाई के अपील गर्न चाहनुहुन्छ ?
यहाँका मतदाता सचेत छन् । पैसाको प्रलोभनमा पर्दैनन् । चुनावका अगाडि विकासमा नाममा योजना छर्दैमा भरतपुर समृद्ध हुँदैनमा भन्नेमा विश्वस्त छन् । हिजो भरतपुर–१९का मतदाताको मत होइन मन च्यातिएको हो । मतपत्र होइन, जनताको विश्वास कुल्चिएको हो ।
यस्ता नैतिकहीनहरूलाई मत दिनुहुँदैन भन्नेमा उहाँहरू निर्भिक हुनहुन्छ । उहाँहरूले सत्ता, शक्ति र स्वार्थले विवेक बन्धन राख्नुहुन्न । राजकाजको दुरुपयोगलाई यहाँका स्वाभिमानी मतदाताले विफल बनाइदिनेमा हामी ढुक्क छौँ ।
आफ्नो केही योगदान नहुने तर राजनीतिलाई बाबुबाजेको विर्ता ठान्ने र विरासतको आडमा राजनीति गर्ने हिजो पनि कमजोर थिए, भोलिका दिनमा पनि बलिया हुँदैनन् ।
निर्वाचनमा पराजित हुनुभयो भने ?
सत्यलाई पछाडि पारिन सक्छ तर पराजित हुँदैन । निर्वाचन जित्नेमा म शतप्रतिशत ढुक्क छु । सत्ता, धोका, हतकण्डा, अनेक प्रपञ्च अपनाएर मैलाई वैधानिक ढंगले हराउने प्रयत्न भयो भने पनि भरतपुरबासीको सेवा गर्ने, यहाँको विकास निर्माणको अगुवाइ गर्ने यहाँका मतदातको सेवा गर्ने मेरो प्रणलाई कसैले हराउन सक्दैन ।
४० वर्षदेखि यहाँको माटोमा लडिबुडी खेलेको छु । जनताको सुख–दुःखमा छु, जनताको सेवामा जुट्न मलाई कसैले रोक्न सक्दैन ।(बाह्रखरी)










