सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारी गरिरहेका बेला नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली साताब्यापी चीन भ्रमण सकेर १३ साउनमा काठमाडौं फकिए । ओलीको चीन भ्रमणलाई लिएर भारतीय दूतावासदेखि प्रधानमन्त्री निवास बालुवाटारसम्म चासोको बिषय बनेको छ ।
भारत र चीनबीच दोक्लम विवाद चलिरहेका बेला पूर्वप्रधानमन्त्री ओली तिब्बत भ्रमणमा पुगेका थिए । तिब्बत भ्रमणमा पुगेका ओलीले चीनियाँ नेताहरुसँग भेटघाट भएको पत्रकार सम्मेलन मार्फत सार्वजनिक पनि गरे । त्यसपछि सक्रिय भएको भारतीय दूतावासले चिनियाँ नेताहरुलाई ओलीले भेट्नुको कारण नेपाल सरकारसँग मागेको स्रोतले बताएको छ ।
ओलीले चिनिया नेताहरुसँग भेटेपछि भारतीय दूतावासले चासो देखाएको थियो । ओलीको भ्रमणबारे भारतीय दूतावासले प्रधानमन्त्री शेरबहादुर देउवासँग चासो राखेको स्रोतले बताएको छ । ‘ओलीको भ्रमणका बारेमा नेपाल सरकारलाई के जानकारी छ ? भारतीय राजदूत मन्जिभ सिंहले प्रधानमन्त्री देउवासँग सोधेका थिए ।
ओलीको भ्रमण बारे आफुलाई जानकारी नभएको बताएका प्रधानमन्त्री देउवाले तत्कालै परराष्ट्र मन्त्रालयलाई भ्रमणका बारेमा सोधेका थिए । तर परराष्ट्र मन्त्रालयले पनि भ्रमणका बारेमा आफुलाई जानकारी नभएको जवाफ प्रधानमन्त्री देउवालाई दिएको स्रोतले बताएको छ ।
‘पूर्वप्रधानमन्त्रीज्यू चीन भ्रमण गएको बारे मन्त्रालयलाई कुनै जानकारी छैन’ परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री देउवालाई जवाफ पठाएको एक अधिकारीले बताए । ओलीले चिनियाँ नेताहरुसँग गरेको गोप्य भेटघाटलाई देउवा र भारतीय दूतावासले रहस्यमयरुपमा लिएका छन् ।
साताब्यापी चीन भ्रमणमा रहँदा ओलीले सवै उत्तरीनाका खोल्न चीन सरकारलाई प्रस्ताव गरेका थिए । नेपाल र चीनसँग सीमा जोडिएको १४ सय किलोमिटरमा नाका खोल्न चीन सरकार तयार रहेको जानकारी ओलीले सोमवार पार्टीको स्थायी कमिटीमा बताएका थिए ।



