चितवन, १८ साउन– सर्वोच्च अदालतले भरतपुर महानगरपालिका–१९ मा पुनः निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेपछि आगामी शुक्रबार मतदान हुने भएको छ । निर्वाचनको मिति घोषणा गरेलगत्तै मौन अवधि सुरु भएपछि उम्मेदवारले थप प्रचारप्रसार गर्न नपाउने भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार सर्वदलीय बैठक राखेर पुनः निर्वाचनको मिति तोकेको हो । मंगलबारबाटै मौन अवधि सुरु भएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले बताए । यस अवधिमा उम्मेदवारहरूले चुनाव प्रचारप्रसारका कुनै गतिविधि गर्न पाउनेछैनन् ।
शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।
वडा नं. १९ मा ३,७९७ मतदाता भरतपुर महानगरमा २७ वटा वडाको मतगणना भइसकेको छ । अब निर्वाचन हुन बाँकी वडा नम्बर १९ र २० को गणना हुनेछ । २७ वटा वडाको अन्तिम नतिजाअनुसार एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले ४० हजार ९८० मत ल्याएका छन् । माओवादी–कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहालको ४० हजार १९४ मत छ । चार हजार ३३१ मतदाता रहेको वडा नम्बर २० मा तीन हजार ३१८ मत खसेको छ । यो वडाको मत गन्न बाँकी छ । त्यस्तै, फेरि मतदान हुन लागेको वडा नं. १९ का तीनवटा मतदानस्थल र ६ वटा मतदान केन्द्रबाट तीन हजार ७९७ जनाले मत खसाल्न पाउनेछन् ।
जलाइयो च्यातिएको मत पहिलो चरणअन्तर्गत ३१ वैशाखमा भरतपुर महानगरपालिका–१९ का मतदाताले हालेको मत मंगलबार जलाएर नष्ट गरिएको छ । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेको नेतृत्वमा गणनास्थल कभर्ड हल परिसरमा साँझ साढे ४ बजे मतपत्र जलाइएको हो ।
नयाँ पत्रिकाबाट










