काठमाण्डाै - खानेपानीको अभाव रहेको धरानमा बजारमा अब अभाव हट्ने भएको छ । धरानका मेयर हर्क साम्पाङले धरानमा पानी ल्याएको भिडियो सार्वजनिक गर्दै श्रमदान गर्ने सबैलाई धन्यवाद दिनु भएको छ।

उज्यालोसँगको कुराकानीमा उहाँले भन्नुभयो– ‘हाम्रो सानो प्रयासले पानी ल्याउन सफल भएका छौँ, यसलाई ठूलो काम गरेको रुपमा प्रचार गर्न आवश्यक छैन ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उहाँले अहिले ‘खर्दु र निशानेलाई मात्रै जोडेको र सर्दु जोड्न बाँकी रहेको भन्दै सर्दुसँग झन् ठूलो पानीको फोहोरा आउने बताउनु भएको छ । धरान ल्याइएको पानीको फोहोराको भिडियो सामाजिक सञ्जालमा पोष्ट भएपछि धेरैले मेयर साम्पाङलाई बधाई दिएका छन् ।

भिडियोमा मेयर साम्पाङसहित धरानवासी पानीको फोहोरामा भिज्दै गरेको देखिन्छ । धरानका प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालले धरान बजारको सिरानसम्म अहिले पानी ल्याएको र अबको ५–६ दिनपछि बजारको बीचसम्म पुर्याइने जानकारी दिनुभयो ।

बजारको बीचमा बनाइएको ट्याङ्कीमा पाइपमार्फत ल्याइएको पानी राखिनेछ । त्यसपछि धरानवासीलाई वितरण गर्ने तयारी रहेको उहाँले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार ३ महिनाको श्रमदान र मेहनतबाट पानी ल्याइएको हो । अहिलेसम्म यो पानीका लागि सरकारी रकम खर्च नभएको पनि उहाँले बताउनु भएको छ ।