दमक/ महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्म जयन्तीको अवसरमा दमकमा रहेको महाकवि देवकोटाको शालिकमा माल्यार्पण गरिएको छ ।
दमक नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाइँ, वडा नं ६ का वडाध्यक्ष टेकबहादुर थापा, साहित्यकार युवराज नयाँघरे, खेमलाल पोखरेलसहित साहित्य क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुले बिहान दमक ६ मा रहेको देवकोटाको शालिकमा माल्यार्पण गरेका हुन ।

सोपछि दमकस्थित पशुपति सेवा सदनमा दमक प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको देवकोटा जयन्ती विशेष समारोहमा साहित्यकार तथा प्राध्यापक भुमी प्रसाद दाहालले महाकवि देवकोटाले नेपाली साहित्यसंगै मुलुकको हितमा पुरयाएको योगदानको चर्चा गरे ।

कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष हेम अधिकारीको अध्यक्षतामा भएको थियो भने बाल कलाकार रियाज रिजालले महाकवि देवकोटाको रचना वाचन गरेर स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन बिष्णु नेउपानेले गरेका थिए ।
देवकोटाका कालजयी कृतिमार्फत नेपाली साहित्यमा पुरयाएको योगदानको स्मरण गर्दै हरेक वर्ष नेपालसँगै भारतको दार्जिलिङ सिक्किम जस्ता नेपाली भाषीको बाहुल्य क्षेत्रमा लक्ष्मी पूजाको दिन देवकोटाको जन्मजयन्ती धुमधामका साथ मनाउने गरिन्छ ।

विसं १९६६ साल कात्तिकको औशीका दिन पिता तिलमाधव देवकोटा र माता अमरराज्य लक्ष्मीको साईलो छोराको रुपमा जन्मिएका देवकोटाले नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको सुरुवात गरेका थिए । तत्कालीन राणा शासनकालमा सर्वसाधारणलाई अध्ययन गर्न दिनुपर्ने भन्दै अभियान चलाउने देवकोटा लाईब्रेरी काण्डका समेत एक प्रमुख सदस्य हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय