बिष्णुप्रसाद पोखरेल
दमक/झापाको बिर्तामोडका दूइजना ब्याक्तिको स्वाइनफ्लूका कारण मृत्यु भएको बताईएपछि यस बिषयमा अनुसन्धान शुरु भएको छ । स्वाइनफ्लू रोगको संक्रमणबाट दूइसाताको अवधिमा दूइ जना महिलाको मृत्यु भएको बताईएको थियो ।
बिर्तामोड नगरपालिका वडा नंं –४ की ४७ वर्षीया अनीतादेवी मित्तल र बिर्तामोड–१ निवासी ३७ वर्षीया मनिषा अग्रवालको स्वाइन्फ्लुका कारण मृत्यु भएको थाहा पाएपछि जिल्ला जनस्वास्थ्य कार्यालय झापाले पनि यस बिषयमा अध्ययन शुरु गरेको जनाएको छ ।
नेपालमा उपचार नगराएका कारण र ढिला गरी सूचना प्राप्त भएकाले यस बिषयमा बुझ्ने काम भइरहेको जिल्ला जन स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन कुलबहादुर पौड्यालले बताए ।
श्वासप्रश्वासमा सामान्य समस्या आएको र खोकी लागिरहेपछि अनितालाई उपचारका लागि असार २१ गते भारतको सिलगढीमा रहेको नवदीता नर्सिङ होममा लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि एयर एम्बुलेन्समार्फत दिल्लीको एपोलो हस्पिटलमा लगेर उपचार गराउने क्रममा मृत्यु भएको जनाइएको छ । मृतकका श्रीमान् राजु मित्तलले अस्पतालले स्वाइनफ्लुका कारण नै मृत्यु भएको बताएको जनाए ।
बिर्तामोड नगरपालिका र जिल्ला जन स्वास्थ्य कार्यालय झापाको टोलीले मृतक परिवारको घरमा गएर बुझ्दा र अस्पतालले दिएको मृत्यु प्रमाणित गरिएको पेपरमा मृत्युका कारण स्वाइनफ्लु नै लेखिएको पाइएको जन स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन पौड्यालले बताए । अन्य ल्यावको बिवरण भने प्राप्त नभएको उनको भनाइ रहेको छ ।
एपोलोमा उपचार शुरु गरेको ३ दिन बित्न नपाउदै मृत्यु भएको पाईएको समेत बताईएको छ । अनिताको मृत्यु साउन १ गते भएको थियो । दूइसाता बित्दा पनि घटना सार्वजनिक भएको थिएन ।
आफूहरुले सिलगुढीमा ७ दिनसम्म उपचार गर्दा कुनै सुधार नआएपछि दिल्लि लिएर गएको तर उपचार सम्भव नभएको र यस बिषयमा जिल्ला जन स्वास्थ्य कार्यालय लगायतका ठाँउमा जानकारी दिनु पर्छ भन्ने थाहा नभएको मृतकका श्रीमान् मित्तलको भनाइ छ ।
यसैगरि बिर्तामोड कै मनिषा अग्रवालको पनि दिल्लि स्थित एपोलो हस्पिटलमा साउन १५ गते मृत्यु भएको बताइएको छ । उहाँको मृत्यु पनि स्वाइनफ्लुका कारण भएको अस्पताले बताएको मृतकका आफन्तले जानकारी दिएकाछन् ।
जिल्ला जन स्वास्थ्य कार्यालय र बिर्तामोड नगरपालिकाको टोली मृतकको घरमा पुगेपनि मृतकको शव ल्याइ नसकेको पाइएकाले अहिले नै के कारण मृत्यु भएको भन्न नसकिने अवस्था रहेको जिल्ला जन स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
यस बिषयमा माथिल्लो निकायमा जानकारी गराइसकिएको जिल्ला जन स्वास्थ्य कार्यालय झापाका प्रमुख मधुसुदन कोइरालाले बताए । वास्तविकता सबै पत्ता लगाएर यस बिषयमा आवश्यक रणनीति अवलम्बन गरिने उहाँको भनाइ रहेको छ । उनले भने –‘बिशेषज्ञ सहितको टोलीले बिरामीका सबै कागजपत्र र रिर्पोट हेरेर यस बिषयमा धारणा बनाइने छ ।’



