चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा शुक्रबार हुने निर्वाचनमा झण्डै चार हजार मतदाताले मतदान गर्ने भएका छन् । शुक्रबार बिहान ७ बजेखि बेलुका ५ बजेसम्म मतदानको समय तय गरिएको छ ।  मंगलबार चुनावको मिति घोषणा भएसँगै मौन अवधि सुरु भइसेको छ । मौनअवधि सुरु भएसँगै उम्मेदवारले औपचारिक रुपमा प्रचारप्रसार गरेका छैनन् ।

वडा नम्वर १९ मा ३ वटा मतदानस्थल तय गरिएको छ, जहाँ ६ वटा मतदान केन्द्र रहनेछन् । जीवनज्योति राप्रावि गुञ्जनगर, शारदानगर उच्च मावि शारदानगर र किरणगञ्ज मावि रानीपोखरीमा मतदानस्थल तय गरिएको छ । जीवनज्योति राप्रावि केन्द्रमा १३ सय मतदाता छन् भने शारदानगरमा १२४१ र किरणगञ्जमा १२४३ मतदाता छन् ।यसअघि वडा नम्बर १९ मा २ हजार ८६० मत खसेको थियो । वडा नम्बर १९ मा ३ हजार ७९७ मतदाता छन् । वडा नम्बर १९ को गणना अघिसम्म देवी ज्ञवालीले रेणु दाहालले भन्दा ७८४ बढी मत ल्याउएका छन् । २० नम्बर वडाको मत गणना गर्न बाँकी नै छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

२७ वटा वडाको अन्तिम परिणाम अनुसार, एमालेका मेयरमा उम्मेदवार देवी ज्ञवालीले ४० हजार ९८० मत ल्याएका छन् त्यस्तै माओवादी कांग्रेस गठबन्धनकी उम्मेदवार रेणु दाहालको ४० हजार १९४ मत ल्याएकी छन् । निर्वाचन अधिकृतको कार्यालय चितवनले दलसँगको बैठकपछि भरतपुर–१९ को २८०७ बदर मतलाई दलीय प्रतिनिधिको सहभागितामा मतगणनास्थल भरतपुरको कभर्डहलको परिसरमा जलाएर नष्ट गरेको थियो ।