काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मंसिर ४ गते मतदान गर्ने बेला बितेका पाँच वर्ष र ०७४ को निर्वाचनलाई सम्झिन आग्रह गरेका छन् । काठमाडौंको महाराजगञ्जमा बिहीबार आयोजित चुनावीसभामा बोल्दै महामन्त्री थापाले मंसिर ४ गते मतदान गर्नुअघि ०७४ को निर्वाचनलाई स्मरण गर्न आग्रह गरेका हुन् ।

उनले एमाले अध्यक्ष केपी ओलीको लहडका कारण बितेका पाँच वर्ष खेर गएको आरोप लगाए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘म तपाईंहरूलाई सम्झाउन चाहन्छु, पाँच वर्षअघिको निर्वाचनमा नेपाली कांग्रेसले २३ सिटमात्रै जित्यो, बाँकी सबै सिटमा पराजित भएको थियो । त्यो बेलामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भन्नुभएको थियो, 'अब ५० वर्ष हामी देश चलाउँछौँ ।' संसद्‌मा पुग्दा उहाँहरूसँग साँच्चिकै ५० वर्षसम्म देश चलाउन सक्ने तागत प्राप्त भएको थियो,’ थापाले अघि भने, ‘४०० भन्दा धेरै स्थानीय सरकार, ६ वटा प्रदेश सरकार र केन्द्रमा झण्डै दुईतिहाइको बहुमतको सरकार थियो । यत्तिको अवसर अहिलेसम्म कसैले पनि पाएको थिएन । यो अवसर केवल केपी ओलीको व्यक्तिगत लहडका कारण देशले गुमाएको छ ।’

महामन्त्री थापाले यो निर्वाचनबाट देशमा थिति बस्दै छ भन्ने सन्देश दिनसमेत मतदातालाई आग्रह गरे । ‘एउटा व्यक्तिको लहडले ५ वर्ष खेर गयो । त्यसको हिसाब माग्ने कि नमाग्ने ? प्रतिपक्षीमा के-के गर्न सक्थ्यौँ भनेर हामी अहिले चुनावमा आउँथ्यौं । मतदाताले छातीमा हात राखेर भन्नुपर्छ, अहंकार र लहडको हिसाब माग्नुपर्छ, मतदाताले त्यस्तो अहंकारी व्यक्तिलाई साइजमा राख्नुपर्छ,’ थापाले भनेका छन् ।