नेपाली कांग्रेस र एकीकृत समाजवादीसँगको गठबन्धनमा माओवादी केन्द्रले काठमाडौं उपत्यकामा प्रतिनिधिसभाका लागि पाँच क्षेत्रमा उम्मेदवारी दिएको थियो । काठमाडौं १० मा एकल उम्मेदवारी दिएको थियो । काठमाडौं ३ मा अन्तिम समयमा निष्क्रिय बनाएको थियो । एकतिहाई सिटमा उम्मेदवारी दिएको माओवादी केन्द्रले काठमाडौंमा जित निकाल्न सकेन । अपेक्षित ललितपुर ३ र काठमाडौं ७ मा पनि माओवादी केन्द्र तेस्रो पोजिसनमा पुग्यो । अघिल्लो चुनावमा पनि ललितपुर ३ मा पम्फा भुसाललेमात्रै जित निकालेकी थिइन् ।

आठ महिनाअघिको स्थानीय तहको चुनावमा पनि माओवादी केन्द्र यस्तै हालतमा थियो । १५ वटा पालिका प्रमुखमा कतै पनि जित निकाल्न नसकेको उसले अघिल्लो चुनावभन्दा पनि कमजोर उपस्थिति देखाएको थियो । अघिल्लो स्थानीय तहको चुनावमा कोन्ज्योसोम गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको थियो । यो पटक यो पालिकामा माओवादीले जित्न सकेन । यो क्षेत्रलाई माओवादीको आधार इलाका जस्तै मानिन्थ्यो । यो क्षेत्र मकवानपुरसँग जोडिएको छ ।

मकवानपुर पनि माओवादीको आधार क्षेत्र थियो । २०७९ को स्थानीय तह चुनावमा कांग्रेससँग चुनावी तालमेलले पनि माओवादीले जित्न सकेन । मध्यपुर थिमिमा उपमेयर जितेको छ । उपत्यका भरी ११ वडाध्यक्ष (रुख चिह्नमा लडेका १ सहित) र ३३ जना सदस्य (रुखमा जितेका ३ सहित) जितेको छ । अघिल्लो चुनावभन्दा माओवादीले जितेका जनप्रतिनिधिको संख्या ५६ बाट घटेर ४७ मा झरेको छ । ललितपुरको बागमती र महांकाल गाउँपालिका र भक्तपुरको मध्यपुरथिमी नगरपालिका तालमेल गरेर उप्रमुख जित्यो ।

जनमत घट्ने क्रम प्रतिनिधिसभाको र प्रदेशसभाको चुनावसम्म पनि रोकिएको छैन । माओवादीको शहरमा संगठन नै नभएको होइन, तर उसको प्रभाव भने देखिँदैन । अनि, जनमत पनि आकर्षित गर्न सकेको छैन । उपत्यकामा ०६४ मा १५वटा निर्वाचन क्षेत्रमा सातवटा जितेको थियो । काठमाडौंमा ४ र ललितपुरमा ३ क्षेत्र जितेको छ । त्यसपछि निरन्तर खस्किँदो नतिजाले माओवादीको प्रभावले उसलाई लज्जाजनक अवस्थामा पुर्‍याएकाे छ ।

२०७० को दोस्रो संविधानसभाको चुनावमा देशभर २६ सिट जित्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं १० बाट हारे । जब कि माओवादीको सबै भन्दा राम्रो क्षेत्र मानिन्छ कीर्तिपुर लगायतको यो निर्वाचन क्षेत्र । यो चुनावमा उपत्यकाका अरु निर्वाचन क्षेत्रमा पनि माओवादी उम्मेदवारले खाता पनि खोल्न सकेनन् ।

पाहुनाको बिगबिगी

माओवादीले अहिले पनि प्रतिनिधिसभाका उम्मेदवारहरू उपत्यका बाहिरबाट ल्याएको थियो । काठमाडौं ९ मा कल्पना धमलाको घर काठमाडौंको नैकापमा छ । तर काठमाडौंबासीले नै उनलाई बाहिरबाट आएको उम्मेदवारको रूपमा हेर्छ । उनको जन्म धादिङमा भएको हो ।

मानुषी यमी भट्टराईको काठमाडौं मामाघर हो । उनको पुर्ख्यौली घर गोरखा हो । पूर्वमाओवादी नेता बाबुराम भट्टराईकी छोरी मानुषीलाई उपत्यकाले बाहिरको मान्छ । काठमाडौं २ मा ओनसरी घर्ती रोल्पाको स्थायी बासिन्दा हुन् । पूर्वसभामुख घर्तीलाई पनि काठमाडौंले स्वीकारेको देखिँदैन । तीनै जना महिला उम्मेदवार भए पनि उपत्यका बाहिरका हुन् ।

माओवादीको प्रतिनिधिसभाको उम्मेदवारका अञ्जना विशंखे काठमाडौंको स्थायी बासिन्दा हुन् । अझ उनी माओवादीको पकड मानिएको क्षेत्र नम्बर १० बाट उम्मेदवार छिन् । तर उनको पनि अवस्था कमजोर देखियो ।

सबैभन्दा बढी क्षेत्र जितेको ०६४ सालमा पनि माओवादीले उपत्यकामा सबै जसो उम्मेदवार बाहिरका उठाएको थियो । काठमाडौंमा पहिलो संविधानसभाको चुनाव जित्ने अधिकांश माओवादी नेताहरू बाहिरबाट आएका थिए । माओवादीले उपत्यकामा स्थानीय नेताहरू जन्माउन नसकेको बताइन्छ ।

माओवादी नेता हिमाल शर्माले काठमाडौंमा लामो समय काम गरेकाभन्दा बाहिरबाट आएकाले बढ्ता अवसर पाएको गुनासो उपत्यकामा हुने गरेको स्वीकार्छन् । शर्माकोझैँ नेतृत्व नै उत्पादन गर्न नसकेको माओवादीको काठमाडौं जिल्ला संयोजक उमेश स्थापितको स्वीकारोक्ति छ । उनले भने, ‘उपत्यकामा अझ काठमाडौंमा एक समय माओवादी भर्सेज जनताको अवस्था आयो । यहाँकाले भन्दा बाहिरकाले अवसर पाएको कारण पनि हुन सक्छ ।’

०६४ सालमा उपत्यकामा चितवनका पुष्पकमल दाहाल प्रचण्ड, रोल्पाका झक्कु सुवेदी, बाग्लुङका हितमान शाक्य, रोल्पाका वर्षमान पुन र अर्घाखाँचीकी पम्फा भुसालले जितेका थिए । त्यसपछिका चुनावमा भुसाल र सुवेदीबाहेक माओवादीले व्यक्ति फेर्दै गयो, तर परिणाम भने आएन ।

०७० सालमा पनि बागलुङका हिमाल शर्मालाई उम्मेदवार बनायो । हुँदाहुँदा स्थानीय तहको चुनावमा काठमाडौंको टोखामा बागलुङका दिनानाथ शर्माकी छोरी कल्पना शर्मालाई मेयरको टिकट दियो । अघिल्लो चुनावमा वामगठबन्धन हुँदा पनि काठमाडौं १ बाट अनिल शर्मा हारे । उनलाई पनि रुकुम पश्चिमबाट काठमाडौंमा ल्याएर उम्मेदवार बनाएको थियो ।

विभाजनलाई दोष

माओवादी नेता उपत्यकामा कमजोर हुनुमा विभाजनको कारण देखाउँछन् । विभाजनको कारण नेता उत्पादन हुन नसकेको उनीहरूको भनाइ छ । उनीहरूको भनाइमा, मजदुर संगठन र वाइसीएलले राम्रा काम गर्‍याे, तर त्यसको जस लिन सकेन ।

पार्टीभित्रको टुटफुट र विभाजिनले संगठन कमजोर बनाएको र नागरिकको मनोविज्ञान नै फेरिएको काठमाडौं जिल्ला इञ्चार्ज कुमार पौडेल बताउँछन् । उनको भनाइमा मोहन वैद्य, विप्लवहरूको विभाजनले संगठनलाई कमजोर बनाएको हो । त्यसको असर अहिलेसम्म पर्दा संगठन थिग्रिएर काम गर्न नसकेको उनकाे भनाइ छ ।

उग्रवामपन्थ अस्वीकार

माओवादी केन्द्रका नेताहरू नै उपत्यकाले उग्रवापन्थ अस्वीकार गरेको विश्लेषण गरिरहेका छन् । जिल्ला संयोजक उमेश स्थापित नै यो कुरा स्वीकार्छन् । उनी भन्छन्, ‘उपत्यकाले उग्रवामपन्थ स्वीकारेको देखिएन । नेतृत्व तयार गर्ने विषयमा पनि समस्या देखियो ।’

हुन पनि, दोस्रो संविधानसभा अघिको ६ दिन आम हडतालमा जनतासम्म पुगे पनि हडताल सफल भएन । त्यसको असर माओवादीलाई उल्टो पर्‍यो । त्यही आन्दोलनले माओवादीविरुद्ध जनमत तयार भएको स्थापितको भनाइ छ ।

काठमाडौंको मात्र कुरा गर्ने हो भने लोडसेडिङ र सडक चौडा माओवादीले गरेको हो । यहाँ दैनिक समस्यासँग पनि माओवादी जोडिएर समाधान गर्ने काम भइरहेको छ । तर माओवादीलाई किन उपत्यकाले पत्याएन भन्नेमा हामीहरू रणभुल्लमा परेको माओवादी केन्द्रका केन्द्रीय सदस्य डीपी ढकाल बताउँछन् ।

उनले भने,‘माओवादीले उपत्यकाको हकमा राम्रो काम गरेको छ । लोडसेडिङको अन्त्य, सडक चौडा गर्ने काम गरेको हो । तर पनि माओवादीलाई उपत्यकाले धन्यवाद दिएन । ’खासमा अहिले उपत्यका माओावदीका लागि जनमत बनाउने भन्दा पनि नेता र उनका आफन्तको व्यवस्थापन गर्ने क्षेत्रको रूपमा परिणत भएको माओवादी नेताहरू नै बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय