८ मंसिर, काठमाडौं । परिचित प्रतिद्वन्द्वी पार्टी नेकपा एमालेका उम्मेदवारलाई हराउँदै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, तनहुँ–१ बाट निर्वाचित भएका छन् ।

पौडेलले एमालेका एकबहादुर रानालाई झण्डै ६ हजार मतान्तरले हराएका छन् । पौडेलले २५ हजार ३१८ मत ल्याएर जित्दा राना १९ हजार ९४३ मतमा सीमित भए । कांग्रेसकै पुराना नेता गोविन्दराज जोशीले स्वतन्त्र उम्मेदवार बनेर ६ हजार ८७८ मत पाए ।

यो जितसँगै छैटौंपटक निर्वाचित हुने थोरै नेताको संख्यामा पौडेल परेका छन् । पौडेल भन्दा धेरै जित्नेमा कांग्रेसकै सभापति शेरबहादुर देउवा (सातौं पटक) छन् । ०४८ यताका सबै चुनाव जितेर देउवा चाहिँ कीर्तिमानी नेता बनिसकेका छन् । पौडेलले भने अघिल्लो चुनाव हारेकाले देउवासँग पछि परे । तत्कालीन एमाले उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) सँगको त्यो हारले पौडेलको संसदीय यात्रामा मात्रै नभएर राजनीतिक करिअरकै ठूलो क्षति थियो ।

त्यसबेला संस्थापन इतर समूहको नेतृत्व गरिरहेका पौडेलले आफूसँगै तनहुँमा कोही कांग्रेसलाई जिताउन सकेनन् । त्यसको असर बितेको संसदीय कार्यकालभर (०७४–०७९) पौडेलले खेप्नुपर्‍यो । जबकी ७८ वर्षीय पौडेलका निम्ति उमेरकै कारणले पनि यो कार्यकाल बढी अर्थपूर्ण थियो । तर पहिलोपटक सांसद बन्नबाट पौडेल रोकिँदा कांग्रेसले सरकारकै नेतृत्व गर्ने अवसर पाउँदा पनि देउवा पाँचौंपटक प्रधानमन्त्री भए ।

फेरि लयमा

रामचन्द्र पौडेलको राजनीति लगातार ओरालो लाग्न थालेको भने आफैं कार्यबाहक सभापति भएर गराएको कांग्रेसको १३औं महाधिवेशनमा देउवासँग सभापति पदमा पराजित भएपछि हो । गएको वर्ष मंसिर अन्तिम साता सम्पन्न १४औं महाधिवेशनमा त उनी सभापतिको उम्मेदवार समेत भएनन् । आफ्नै समूहमा रहेका डा. शेखर कोइराला र प्रकाशमान सिंहले दाबी नछोडेपछि पौडेल सभापतिको उम्मेदवार नै भएनन् । जबकी त्यसैबेला पनि मुलुकको राजनीतिक कोर्स र पार्टी यात्रा पौडेलकै लाइनमा बढिरहेको थियो । चुनाव हारेर पनि कांग्रेसले गठबन्धन सरकारको नेतृत्व गर्ने राजनीतिक समीकरण निर्माणको वकालत गर्नेमा पौडेल अग्रपंक्तिमा थिए । देउवा भने प्रतिनिधिसभा विघटन गर्ने केपी ओलीको निर्णयमा खुलेर उभिएका थिए । पौडेलले भने पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग वार्तामा बसे, प्रतिनिधिसभा पुनर्स्थापित हुनुपर्ने मागसहित संघर्षमा होमिए ।

नभन्दै प्रतिनिधिसभा पुनर्स्थापना भयो । संसद पूरा कार्यकाल चल्यो । तर पुनर्स्थापित संसदमा सरकारको नेतृत्व गर्ने योग्यता ०७४ को चुनावी पराजयसँगै पौडेलले गुमाएका थिए । तथापि उनी गठबन्धनकै पक्षमा उभिए । गठबन्धन तोडिए फेरि कम्युनिष्टहरू मिलेर कांग्रेस हराउँछन् भन्ने उनको प्रष्ट निष्कर्ष थियो ।

राजनीतिक भागबण्डाका कारण गठबन्धनका दलहरुबीच खटपट हुँदा पनि पौडेल मिलाउनै पक्षमा उभिए । तर तिनै पौडेललाई तनहुँको भागबण्डा मिलाउन सजिलो थिएन । कृष्णप्रसाद सिटौलाको साथ पाएर पार्टी महामन्त्री पदको उम्मेदवार बनेका प्रदीप पौडेल प्रतिनिधिसभा टिककै सशक्त दावेदार थिए । शंकर भण्डारी र गोविन्दराज भट्टराई स्वभाविक दावेदार भए ।

पार्टी बाहिर ०७४ मा आफैंलाई हराउने कृष्णकुमार श्रेष्ठ किसानको व्यवस्थापन पनि गर्नुथियो । उम्मेदवारी दर्ता हुने अन्तिम समयमा सबै संकट हल गर्न पौडेल सफल भए । प्रदीप पौडेललाई काठमाडौं–५ र किसानलाई बारा–४ पठाउन सफल भए । शंकर भण्डारीलाई तनहुँ–२ को टिकट दिलाएर आफू तनहुँ–१ बाट उम्मेदवार बने । गोविन्दराज भट्टराईलाई मनाउन पौडेलले राष्ट्रियसभा सदस्यको टिकट र कांग्रेस कोषाध्यक्षको बचन दिए । यो बचनपछि बागी उम्मेदवारी दिने तयारीमा रहेका भट्टराई पछि हटे ।

यति गर्दा पनि पौडेलको यात्रामा अर्को अवरोध बाँकी थियो, गोविन्दराज जोशी फ्याक्टर । जोशीतर्फको मत तान्न उनी निकट चिनु पोखरेललाई पौडेलले प्रदेशसभा समानुपातिक सांसदको बाचा गरे । चिनुको नाम समानुपातिकको बन्द सूचीमा राखे । त्यसपछि भने पौडेलले जोशीलाई उम्मेदवार हुन रोकेनन् ।

भ्रष्टाचार अभियोगको सजाय खेपेका पूर्वमन्त्री जोशीको उम्मेदवारी ०७४ मा पौडेल निकट नेताहरुको निवेदनबाट खारेज भएको थियो । तर त्यसको लाभ एमालेले उठाएको बुझाइकै कारण यसपटक उनले जोशीलाई मैदानमा आउन रोकेनन् । ‘उम्मेदवारी फिर्ता गर्ने समयसम्म हामीले उजुरी गर्नेबारे सोंच राखेका थियौं, तर त्रिपक्षीय भिडन्त हुँदा फाइदा हुने भएपछि उजुरी नगर्ने निर्णयमा पुग्यौं’ कांग्रेस जिल्ला सचिव लक्ष्मीभक्त खनाल भन्छन् ।

कांग्रेसको त्यो रणनीतिक निर्णय सफल पनि भयो । जोशीले पाएको मत एमालेमा गएको भए यसपटक पनि पौडेलले जित्न नसक्ने रहेछन् । उनले आफू जित्न अरुलाई अन्यत्र पठाएको दोष पनि खेल्नु नपर्ने भएको छ । किनकि सबैले जिते । तनहुँ–२ का शंकर भण्डारी, बारा–४ गएका किसान र काठमाडौं–५ आएका प्रदीपले त जिते नै, प्रदेशसभा सदस्यमा पनि कांग्रेस उम्मेदवार हारेनन् ।

तनहुँ–१ (क) बाट प्रदेससभा सदस्यमा अशोककुमार श्रेष्ठ र तनहुँ–२ (ख) बाट जितप्रकाश श्रेष्ठले जिते । जितप्रकाश कांग्रेस जिल्ला सभापति हुन् । ०७४ मा तनहुँका सबै चुनाव हारेको कांग्रेसका सबै उम्मेदवारले यसपटक जिते । नसकेको भने सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका उम्मेदवार जिताउनु हो । ०७४ मा माओवादी केन्द्रको भागमा परेको दुई वटा प्रदेशसभा सदस्यको टिकट यसपलि पनि पाएको थियो । त्यसमध्ये एकमा एमाले विजयी भयो ।

प्रधानमन्त्रीमा दाबी गर्लान् ?

सत्ता गठबन्धनको निर्वाचन परिचालन समितिको कमाण्डर नै पौडेल भएकाले आफूसहित गठबन्धनका उम्मेदवार जिताउनु उनको दायित्व थियो । पौडेल नेतृत्वको परिचालनबाट गठबन्धनले पाएको सफलता अन्तिम मत परिणामले देखाउनेछ ।

तर चुनाव जितेर पौडेलले सरकारको नेतृत्वमा दावी गर्ने पृष्ठभूमि तयार पारेका छन् । चुनावी अभियानकै क्रममा तनहुँ पुगेर सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पौडेलले सरकारकै नेतृत्व गर्ने संभावना रहेको सार्वजनिक मन्तव्य दिएका थिए ।

विगत हेर्दा पनि पौडेल प्रधानमन्त्रीका दावेदार मात्रै नभएर धेरैपटक निवेदन दिएर चर्चाकै पात्र बनेका थिए । ०६४ सालको पहिलो संविधानसभामै पौडेल दलका नेता बनेका थिए । सुशील कोइराला बाँकेबाट पराजित हुँदा तनहुँ–२ बाट चुनाव जितेका पौडेललाई तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले संसदीय दलका नेता बनाएका थिए । अन्तरिम सरकारका प्रधानमन्त्री गिरिजाले त्यो चुनावमा समानुपातिकमा बसे, फेरि नेतृत्वको दाबी गरेनन् ।

संविधानसभाको चुनावपछि सरकार प्रचण्डको नेतृत्वमा बन्यो । तर प्रचण्डले ९ महिनामै प्रधानमन्त्रीबाट राजीनामा दिए । प्रचण्डपछि एमालेका माधवकुमार नेपाल प्रधानमन्त्री भए । माधवको राजीनामापछि नयाँ सरकारको खोजीमा कांग्रेस दलका नेताका रुपमा रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा दाबी गरे । प्रचण्डविरुद्ध पौडेलले गरेको दाबीमा एमाले तटस्थ बस्दा प्रधानमन्त्रीका लागि बहुमत पुगेन । पौडेल १७ पटकसम्म प्रधानमन्त्रीका उम्मेदवार भए ।

०७० को चुनावमा भने सुशील कोइरालाले चुनाव जिते, गिरिजापछि पार्टी सभापति जितेका सुशील नै प्रधानमन्त्री भए । सुशीलको निधनपछि पौडेल कार्यबाहक सभापति भए । तर १३औं महाधिवेशनमा पौडेललाई हराउँदै देउवाले पार्टी सभापति जिते, दलको नेतामा प्रकाशमान सिंहलाई हराए । देउवा अहिले प्रधानमन्त्री छन् ।

अर्थात् कांग्रेसका संस्थापक नेताहरुले नै भावी नेतृत्वका रुपमा आरएसएस (रामचन्द्र, शैलेजा र शेरबहादुर) भनेर चिनाएका पौडेल कार्यबाहक भन्दा माथि जान सकेका छैनन् । जबकी २०४८ मै स्थानीय विकास तथा कृषि मन्त्री भएका पौडेलले २०५१ मा सभामुख भएर कांग्रेस र मुलुककै नेतृत्व गर्ने संकेत दिएका थिए । तर नेतृत्व दाबीमा लगातार असफल भइरहेका पौडेलसामू फेरि अनुकुल राष्ट्रिय राजनीतिक कोर्ससँगै जनमोदन समेत प्राप्त भएको छ । स्वयम् पौडेलले पनि खुलेर आफ्नो सपना सुनाउने गरेका छन् । गएको भदौमा दमौलीमा आयोजित सभाबाटै पौडेलले भनेका थिए, ‘अघिल्लो चुनावमा जहाँबाट हारें, त्यहींबाट जितेर मात्र मर्न चाहन्छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah