कात्तिक १ गते राप्रपा नेपालका पाँच पदाधिकारी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगे । नेतृत्वकै कारण राप्रपा नेपालभित्र चुनावी माहौल नभएको भन्दै नेताहरुबीच चर्चा परिचर्चा भइरहेका बेला उपाध्यक्ष श्याम तिमल्सिना, महामन्त्री केशव श्रेष्ठ, सहमहामन्त्री दमन बस्नेत, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की र प्रवक्ता सुरेश आचार्य खुमलटार पुगेका थिए । ‘सामान्य भेटघाट’का लागि भनिए पनि पाँच पदाधिकारीको खुमलटार पुग्नुको उद्देश्य अध्यक्ष कमल थापालाई पार्टीभित्रको संकटबारे राजनीतिक र रणनीतिक सन्देश दिनु नै थियो । थापाको कार्यशैलीले पार्टीमा चरम निराशा छाएको र नेता कार्यकर्ता तितरबितर हुने अवस्थामा पुगेको निष्कर्ष उनीहरूको थियो ।

उसो त राप्रपा नेपालका उपाध्यक्ष लाक्पा तामाङले बुधबार पाँच भाइ पदाधिकारीले जस्तो घुमाउरो बाटोबाट नभई पार्टी नेतृत्वप्रति खुलेआम गम्भीर प्रश्न उठाए । पार्टीको ‘तीर’ चिह्नमा भन्दा स्वतन्त्र निर्वाचन लडेर धेरै मत ल्याउन सकिने आशयसहित नेतृत्वको इमान्दारिता र पार्टीको विश्वसनीयतामाथि उनको गम्भीर प्रश्न थियो । उनको कटाक्ष नेतृत्वले आफ्ना लागि ध्यान दिएको तर समग्र पार्टीको चाहना र भविष्यप्रति बेवास्ता भएको भन्ने थियो ।

हुन पनि देशभर आम निर्वाचनको माहौल चल्दा राप्रपा नेपालका अध्यक्ष थापाले पार्टीको पक्षमा भोट मागेको खासै सुनिएन । उनी एमालेको सूर्य चुनाव चिह्नमा आफ्नै लागि भोट माग्नै व्यस्त रहे । मकवानपुर क्षेत्र नम्बर १ बाट चुनाव लड्नका लागि महिनौँदेखि तयारी गरेका थापा आफ्नो पक्षमा भोट तान्ने प्रयासका लागि निर्वाचन क्षेत्रका गाउँगाउँ चहारे । तर, चुनाव आफ्नै पार्टीबाट लड्दा जितिनेमा विश्वस्त नभएर उनी एमालेको सूर्य चिह्नमा आकर्षित हुन पुगे । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट धाएरै उनले एमालेबाट टिकट त पाए तर नतिजा आफ्नो पक्षमा पार्न सकेनन् ।

विजयी बन्न मात्रै होइन उनी दोस्रो समेत हुन सकेनन् । राप्रपाका पूर्वसहकर्मी दीपकबहादुर सिंहले रोमाञ्चक जीत निकालेर संसद्को यात्रा तय गर्दा कांग्रेसकी उम्मेदवार डीना उपाध्यायभन्दा पछि परेका थापाका लागि निर्वाचन पीडादायी नतिजा हुन पुग्यो । ‘राजनीतिक जीवनको अन्तिम’ चुनाव लड्दै गरेको बताउने थापाको राजनीतिक भविष्य सङ्कटमा त परेकै छ, उनको नियत र नेतृत्वको जिम्मेवारीमाथि पनि गम्भीर प्रश्न खडा भएको छ । एउटा पार्टीको नेतृत्व आफ्नो सम्पूर्ण जिम्मेवारी पाखा लगाएर अकै पार्टीको चुनाव चिह्नबाट लड्नु आफैँमा अनौठो राजनीतिक विषय हो ।

बदमास सेनापति

सैन्य भाषामा भन्दा कमल थापा राप्रपा नेपालका ‘सेनापति’ हुन् । तर, उनको भूमिका भने ‘भगौडा’ सिपाहीको जस्तो रह्यो । थापा ‘बदमास सेनापति’ जस्तो भएको उनकै पार्टीका जिम्मेवार नेताहरूले टिप्पणी गर्ने गरेका छन् ।

प्रतिनिधिसभातर्फ राप्रपा नेपालबाट ५८ जनाले विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवारी दिए । यस्तै समानुपातिकतर्फ पनि उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाइएको छ । यस्तै प्रदेशको प्रत्यक्ष र समानुपातिकतर्फ पनि उम्मेदवार छन् । ती सबै उम्मेदवारले पार्टीका लागि माहौल बनाउन आफ्नै बलबुताले प्रचारप्रसार गरेपनि थापाले खुलेर मत मागेनन्, न त देश दौडाहामै निस्किए । उनी आफ्नै क्षेत्रमा एकीकृत भई सूर्यमै भोट माग्न तल्लीन भए ।

सेनापतिप्रति समग्र सिपाही र संगठनको भरोसा र आशा हुन्छ । हारेपनि जितेपनि सम्पूर्ण जस–अपजस नेतृत्वकै हुन्छ । सेनापतिको भूमिका भनेकै उत्साह भर्ने र निराशालाई पनि आशामा बदल्ने हो । अझ युद्धमा त सेनापतिले नै मैदान छाडेपछि वा अरू कसैको शरणमा परेपछि त्यसको नतिजा के होला ? सारा पार्टीका उम्मेदवार र नेता कार्यकर्ता ‘तीर’ चुनाव चिह्न लिएर पार्टीको प्रचारमा होमिँदा सेनापतिको भूमिकामा रहनुपर्ने थापा भने अरूको शरणमा परेर राजनीतिक ‘पुल’ तर्न लागिपरे ।

सत्ताका लागि एमालेको सहारा नलिई पार्टीकै पक्षमा माहौल तयार गर्न लागेको भए थापाको पार्टीको पक्षमा जनमत सिर्जना हुन सक्थ्यो । तर, निर्वाचनको नतिजा धमाधम आइरहँदा न थापाले आफ्नो जीत सुनिश्चित गर्न सके न पार्टीको पक्षमा मत नै आयो । बरु, निर्वाचनबाट जनमतविहीन पार्टीको रूपमा राप्रपा नेपाल दर्ज हुने अवस्थामा पुगेको छ ।

निरन्तर पतनको बाटो

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनबाट उदाएको थापा नेतृत्वको राप्रपा नेपाल २०७९ सम्म आइपुग्दा पतनको बाटोमा अघि बढेको छ । सत्ता लिप्सा, नेतृत्वको अस्थिर कार्यशैली, पार्टीभित्रको टुटफुट र विभाजन जस्ता कारणले थापाको हैसियत कमजोर अवस्थामा पुगेको छ । राजनीतिका चतुर खेलाडी थापाले दोस्रो संविधानसभामा पाएको २४ सिटको बलमा सत्ताको स्वाद पटक–पटक चाखेनन् मात्रै शक्तिको दम्भले आफ्नै सहकर्मी र कार्यकर्तालाई चिढ्याउने काम गरे । थापाको पेलान सहन नसकेर उनकै विश्वासपात्रहरू समेतको भूमिकाले राप्रपाको एकता महाधिवेशनमा उनी पराजित भए । सधैँ शक्तिमा रहने बानी परेका थापा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि पार्टीबाट बाहिरिएर । त्यसपछि नै उनले लाक्पा तामाङले चलाएको राप्रपा नेपाल पुनर्गठन गरेका थिए । उता राजेन्द्र लिङ्देन नेतृत्वमा आएपछि राप्रपा निर्वाचनबाट पुनःस्थापित शक्तिको रूपमा उदाउँदै गर्दा कमल थापा भने निरन्तर ओरालो यात्रामा त देखिएकै छन् उनै लिङ्देनसँग पराजय भोगेको घाउ नसुक्दै अर्को घाउ लागेको छ । राजनीतिमा जय–पराजय स्वाभाविक त हो तर कमल थापाको हकमा भने उनको राजनीतिक जीवन नै सङ्कटमा पुगेको छ ।

नेतृत्वमा पराजित भएको झोँकमा भएका एजेन्डा पनि त्यागेर गणतन्त्र स्वीकारेका उनीसँग अब पार्टीलाई बलियो बनाउने सशक्त एजेन्डा पनि छैन । बरु पार्टीकै सारथिहरूले पनि बदनाम सेनापतिको आरोप लगाउँदै साथ छाडिदिने खतरा छ ।

थापालाई नै पार्टी बुझाएका लाक्पाको भनाइमा नेतृत्व सबैलाई जिताउने खालको हुनुपर्छ । ‘राजनीति त पार्टी, देश जनता जित्नलाई पो गर्ने हो । आफू मात्रै जित्नलाई गर्ने होइन नि’, लाक्पाले बिहीबार रातोपाटीसँग भने, ‘पार्टी बनाउनका लागि नेतृत्व पनि सुम्पिएँ, उहाँमा आशा थियो तर व्यक्तिगत स्वार्थतिर लाग्नुभयो ।’ अब पार्टीलाई नेतृत्वले सही दिशा नदिने हो भने आफूहरू चुप लागेर नबस्ने पनि लाक्पाले चेतावनी दिए । यस्तै मत थापाको पार्टीका धेरै नेता कार्यकर्तामा पाइएको छ । अगाडिका चुनौतीका बीच नेपाली राजनीतिका चतुर खेलाडी थापा अब कसरी अघि बढ्छन् त्यो हेर्न बाँकी नै छ । तर, पछिल्लो पराजयले थापालाई फेरि उठ्न सजिलो भने देखिँदैन ।
रातोपाटीबाट साभार|

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah