आन्तरिक राजश्व कार्यालय ललितपुरले आफ्नो क्षेत्रमा पर्ने होटल तथा रेष्टुरेण्टको अनुगमनलाई तीव्रता दिएको छ । होटल तथा रेष्टुरेण्टले कानुन विपरीतको अतिरिक्त शुल्क लिएको उजुरी तथा गुनासो र कर छलीको समस्या देखिएपछि राजश्व कार्यालयले अनुगमन तीब्र बनाएको हो ।

आन्तरिक राजश्व कार्यालय ललितपुर १ का प्रमुख कर अधिकृत अर्जुन ढकालका अनुसार उपभोक्ताको गुनासो तथा उजुरीपछि आफ्नो कार्यक्षेत्रमा पर्ने होटल तथा ठूला रेष्टुरेण्टहरूमा अनुगमनलाई तीब्र बनाइएको छ । ठूला रेष्टुरेण्टहरूले मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम १४ ख लगायतका कर कानुनको उल्लंघन गरेको र मेनु प्राइसमा उल्लेख भएको भन्दा बढी रकम उपभोक्तालाई तिराएको उजुरीका आधारमा अनुगमनलाई तीब्र पारिएको प्रमुख कर अधिकृत ढकालले रातोपाटीलाई बताए ।

कतिपय होटल तथा रेष्टुरेण्टहरूले उपभोक्तालाई बिलबिजक जारी नगरेको र कम्प्युटर बिलिङको सुविधा लिएका व्यापारिक संस्थाहरूले समेत बिल जारी नगरी कारोबार नदेखाई कर छली गरेको सूचना तथा उजुरीहरू आउन थालेपछि उनीहरूमाथि निगरानी बढाइएको र अनुगमनलाई तीव्र बनाइएको ढकालले बताए ।

ढकालका अनुसार आन्तरिक राजश्व कार्यालय ललितपुर १ ले प्रत्येक दिन दुईदेखि तीनवटा टोली बनाएर होटल, रेष्टुरेण्ट, हार्डवेयर, होलसेल लगायतका व्यापारिक संघ संस्थाको अनुगमनलाई तीव्रता दिएको हो । प्रमुख कर अधिकृत ढकालका अनुसार दैनिक औसतमा १० वटा होटल, रेष्टुरेण्ट हार्डवेयर लगायतका करको कारोवार गर्ने संस्थाहरुमा अनुगमन भइरहेको छ ।

अनुगमनका क्रममा होटल तथा रेष्टुरेण्टहरूमा कैफियत पाइएको कारण कतिपयको कागजात मगाएर अध्ययनको काम भइरहेको ढकालले बताए । दैनिक व्यापारको फाइलमा एउटा व्यापार देखिने र बिलबिजक जारी गरेको बिलबिजक हेर्दा अर्कै व्यापार देखिने गरेको र ग्राहकलाई बिलबिजक वा बिल उपलब्ध नगराई कर छली गरेको पाइएपछि उनीहरूमाथि थप अनुसन्धान भइरहेको ढकालले बताए ।

सिमेण्ट, रड, धाराका सामान लगायतका हार्डवेयरका सामान बेच्ने व्यापारिक संस्थाहरूले पनि बिलबिजक नै जारी नगरेको वा बिलबिजक जारी गर्दा पनि न्युन रकमको बिलबिजक जारी गर्ने गरेको पाइएको ढकालले बताए । कतिपयले दिनभर ब्यापार गरी साँझ स्टक मिलाउनकै लागि अति न्युन मूल्यमा बिलबिजक बनाउने गरेको र कतिपयले दिएको सामानभन्दा बढी सामान बिक्री गरेको देखाएर बिक्री गरेको वास्तविक मूल्यको बिलबिजक दिने गरेको लगायतका समस्या पाइएको ढकालले बताए ।

प्रमुख कर अधिकृत ढकालले कुनै व्यापारिक संस्थाले प्यान वा भ्याट बिल जारी नगरेको अवस्थामा त्यसको उजुरी गर्न समेत आग्रह गरेका छन् । ढकालले भने, ‘व्यापार गर्ने संस्थाले बिलबिजक जारी गर्नु अनिवार्य हो । यदि कुनै होटल, रेष्टुरेण्ट तथा अन्य व्यापारिक संस्थाले ग्राहक वा उपभोक्तालाई बिल दिएनन् भने तत्कालै कर कार्यालयमा उजुरी गर्नुहोस्, त्यसको सम्बोधन हुन्छ ।’

मेनु प्राइसमा उल्लेख भएको रकममा सर्भिस चार्ज र भ्याट थप गरी उपभोक्तालाई अतिरिक्त रकम तिर्न बाध्य पारेको तथा बिल जारी नगरेको भन्दै ललितपुरको इन्ट्रान्स क्याफे लगायतका केही रेष्टुरेण्टको सम्बन्धमा राजश्व कार्यालयमा उजुरी परेको थियो । ती उजुरीमाथि समेत छानबिन र अनुसन्धान भइरहेको आन्तरिक राजश्व कार्यालय ललितपुर १ ले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर