नेपाल आयल निगमले तेल भण्डारण गर्न भन्दै रूपन्देहीको भैरहवाको रोहिणी नदी किनारमा करौडौ खर्चेर खरिद गरेको जग्गा (बगर) डुवानमा परेको छ ।

बिहीबारदेखि लगातार वर्षा हुँदा जहाँ निगमले तेल भण्डारण गर्ने भनेर जग्गा किनेको थियो सोही ठाउँबाट अहिले रोहिणी नदी बगिरहेको छ । आयल निगमले खरिद गरेको १४ कठ्ठा जग्गा बगर हो । जहाँ पहिला रोहिणी नदी बग्थ्यो । त्यही नदीले पश्चिमतर्फ कटान गरेपछि पूर्वतर्फ बचेर बगर बनेको थियो । यतिबेला वर्षासँगै रोहिणीमा उर्लिएको भेल निगमको जग्गा भएको ठाउँबाटै बगेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भू–माफियासँग निगमका कर्मचारीको मिलोमतोमा चलनचल्तीको मूल्य भन्दा दोब्बर बढीमा खरिद गरिएको उक्त स्थान तेल भण्डारणका लागि समेत उपयुक्त नभएको बताइएको छ ।

निगमले खरिद गरेको जग्गा अन्य जग्गाको तुलनामा खाल्डोमा रहेको छ ।

त्यसैले अहिले त्यहीँबाट नदी बगिरहेको छ ।  आयल निगमले रूपन्देहीको साविकको धकधई गाविस, पट्खौली र बसन्तपुर गाविसमा करिब साढे १४ विगनहा जग्गा गत असारमा खरिद गरेको थियो ।

ओमसतिया गाउँपालिका वडा नं ४ र ५ मा पर्ने रोहणी नदी किनारको चल्तीको न्यूनतम साढे एक लाखदेखि तीन लाख रूपैयाँको जग्गालाई १० देखि १३ लाख रूपैयाँमा निगमले खरिद गरेको हो ।

निगमले एक सय चार कित्ता जग्गा ३१ करोड ४० लाख ७९ हजार २० रूपैयाँमा खरिद गरेको मालपोत कार्यालय भैरहवाको रेकर्डमा उल्लेख छ । अहिले उक्त जग्गा खरिद प्रक्रियालाई लिएर जिल्लामा चर्को आलोचना भइरहेको छ ।

तर नेपाल आयल निगमले पत्रकार सम्मेलन गर्दै बाढी पस्ने जग्गामा पर्खाल लगाउने बताएको थियो । जग्गा खरिद प्रक्रियामा करोडौं अनियमितता भएको आशंका गर्दै संसदीय समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ । नेपाल आयल निगमले भण्डारणका लागि भन्दै मुलुकभर २० विगाहा जग्गा खरिख गरेको थियो ।बाह्खरी