काठमाडौं । कतारमा जारी विश्वकप फुटबलको प्रभाव मुलुकभरका फिल्म हलमा देखिएको छ । विश्वकप अवधिभर ठूला फिल्म रिलिज नहुने भएपछि यतिबेला हल सुनसानजस्तै छन् ।

चलिरहेका फिल्ममा समेत दर्शक छैनन् । सप्ताहन्तबाहेक विकडेजमा दर्शकीय अकुपेन्सी १५ प्रतिशत हारहारीमा देखिन्छ । यस्तो चाहिं पहिलोपटक मात्र भएको होइन ।

अघिल्ला विश्वकप फुटबलमा समेत फिल्म हल सुनसानजस्तै हुने गरेका थिए । फुटबल मेला एक महिना चल्ने भएकाले यसबीच कम बजेट र स्टारका फिल्म त रिलिज हुनेछन् तर यिनले बक्स अफिसमा उछाल ल्याउन सक्नेछैनन् ।

अब पुस १ गते यस वर्षकै बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार’ प्रदर्शन हुनेछ । विश्वकप सकिएपछि ठूला फिल्म रिलिजको तयारीमा छन् । अहिले हलमा दृश्यम २, भेडिया, महापुरुष, उचाइ र ब्ल्याक प्यान्थर प्रदर्शनरत छन् तर अकुपेन्सी बलियो छैन ।

मंसिर १६ गते रिस्ता बस्नेत अभिनित ‘पासो’ प्रदर्शन हुनेछ । तर यसले रिलिजअघि अपेक्षित हाइप निर्माण गर्न सकेको छैन । अहिले हलमा चलिरहेको सलोन बस्नेतको ‘मिलन’ले दर्शक तान्न सकिरहेको छैन ।

‘विश्वकप अवधिभर नै हलहरु सुनसान हुने देखियो । अहिले १०–१५ जना दर्शकलाई फिल्म देखाएर मात्र हल टिकिरहेका छन् । अवतार २ रिलिज नभएसम्मै यस्तै हुनेछ,’ आईएनआई फ्रेन्चाइज निर्देशक सुरेन्द्र थापाले अनलाइनखबरसँग भने ।

हल सुनसान भइरहँदा कतिपय मल्टिप्लेक्सले विश्वकपको फाइनल खेललाई हलमा प्रत्यक्ष प्रसारण गर्ने तयारी गरेका छन् । मिडिया हबसँग उनीहरुले केही दिनदेखि छलफल चलाइरहेका छन् तर टुंगो लागेको छैन ।

सेलिब्रिटीलाई पनि फुटबलको ज्वरो

यतिबेला फिल्म तथा संगीत क्षेत्रका कलाकारको दैनिकी बदलिएको छ । विश्वकप फुटबलको ज्वरो कलाकारमा समेत देखिएको छ । यतिबेला कलाकार मनपर्ने टिमको पक्षमा खुलेर स्टाटसहरु पोस्ट गरिररहेका देखिन्छन् ।

अभिनेता दीपकराज गिरी अर्जेन्टिना समर्थक हुन् । उनी विश्वकपका सबै खेल प्रायः नछुटाई हेर्छन् । ‘अर्जेन्टिना मेरो फेभरेट टिम हो र विश्वकपको दाबेदार पनि,’ दीपक भन्छन्, ‘मध्यरातबाहेकका गेम नछुटाई हेर्ने गरेको छु ।’

अभिनेत्री श्वेता खड्का ब्राजिलकी समर्थक हुन् । स्वीट्जरल्याण्डविरुद्धको खेल जितेपछि ब्राजिलको पक्षमा उनले स्टाटस पोष्ट गरेकी थिइन् । अभिनेत्री वर्षा शिवाकोटी क्रिस्टियानो रोनाल्डोको टीम पोर्चुगलकी समर्थक हुन् । उनी पनि पोर्चुगलको गेम नबिराइ हेर्छिन् ।

गायक बद्री पंगेनी पनि फुटबलबारेका स्टाटस पोस्ट गरिरहन्छन् । अन्य कलाकारलाई समेत फुटबलको ज्वरो चढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर