केही दिनअघि टेस्ला कम्पनीका सिइओ एलक मस्कले भनेका थिए कि फेसबुकका सीईओ मार्क जुकरबर्गलाई आर्टिफिसियल इन्टेलिजेन्सका बारेमा निकै कम ज्ञान छ ।
उनको यो आरोप अझै ताजै छ र फेसबुकमा घटेको एउटा घटनाले झण्डै यो आरोप पुष्टि गरेको छ । फेसबुकले हालै अचानक आफ्नो एक आर्टिफिसियल इन्टेलिजेन्स सिस्टम बन्द गर्नु परेको छ । आर्टिफिसियल इन्टेलिजेन्स सिस्टमको रोबोटले एक्कासी आफ्नै नयाँ भाषा सिर्जना गरी आफ्नै तालमा कुराकानी गर्न थालेपछि फेसबुकलाई फसाद पर्यो । प्राविधिकहरुको मानवीय सहयोग र प्रदान गरिएका कोडहरु विपरीत नै आर्टिफिसियल इन्टेलिजेन्स बोटले आफ्नै नयाँ भाषा सिर्जना गर्ने र सोही भाषामा संवाद गर्ने गर्न थालेपछि फेसबुकलाई आफैंमाथिको नियन्त्रण गुम्ने त्रास उत्पन्न भयो र उक्त आर्टिफिसियल इन्टेलिजेन्स सिस्टम बन्द गर्यो ।
समाचार अनुसार, उक्त आर्टिफिसियल इन्टेलिजेन्स रोबोटले फेसबुक चलाइएका दुनियाभरका कम्प्युटरमा हमला सुरु गरेको वा नोक्सान पूराउन थालेको होइन । उक्त रोबोटले अंग्रेजी भाषाको प्रयोग गर्न छाडेरै आफैंले सिर्जना गरेको भाषाको मात्र प्रयोग गर्न थाल्यो ।
सुरुमा त रोबोट र प्राविधिकहरुले अंग्रेजी भाषामै कुराकानी गरिरहेका थिए । तर पछि उसले अंग्रेजीको साटो आफ्नै नयाँ भाषा प्रयोग गर्न थाल्यो, जुन भाषा मानिसले बुझ्ने खालको थिएन र सोही आर्टिफिसियल इन्टेलिजेन्स सिस्टमले मात्र बुझ्थ्यो ।
गत जून महिनामा फेसबुकले आर्टिफिसियल इन्टेलिजेन्स ल्याब (Fair) का वैज्ञानिकहरुहरु च्याटबोट्सलाई सुधार गर्नमा व्यस्त थिए । त्यसक्रममै थाहा भयो कि डायलग एजेन्टले आफ्नो एक भाषा तयार गरिरहेको छ । तर छिट्टै बोट्सको ध्यान स्क्रिप्टेड चिजहरुबाट हट्न थाल्यो र विल्कुलै नयाँ भाषामा कुराकानी गर्न सुरु गर्यो, जुन भाषा मानिसले बुझ्न सक्ने खालको थिएन ।
मेसिन लर्निङ एल्गोरिदमको प्रयोग गरेर डाइलग एजेन्टको संवाद कलालाई उत्कृष्ट बनाउनका लागि उसलाई खुलेर कुरा गर्न दिइएको थियो । उक्त बोट्स निकै मज्जासँग मोलमोलाई गर्न खप्पिस रहेको पनि वैज्ञानिकहरुले देखेका थिए ।
तर विस्तारै रोबोटको मोलमोलाई अचाक्ली बढ्यो र कुनै चिजमा नक्कली रुची प्रस्तुत गर्न थाल्यो र झुटो सम्झौता गरेर आफुलाई निकै त्यागी देखाउने लालसा रोबोटमा पैदा हुन थाल्यो ।
यद्यपि, रोबोटमा यस्तो क्षमता विकास हुनु आर्टिफिसियल इन्टेलिजेन्सका लागि ठूलो सफलता मान्न सकिन्छ । तर, वैज्ञानिक स्टेफन हकिंग्स सहित विभिन्न वैज्ञानिकहरुले चाहिँ यस्ता खाले आर्टिफिसियल इन्टेलिजेन्स यन्त्रहरुले सुस्त जैविक क्रम विकास हुने मानिसहरुमाथि राज गर्न सक्ने खतरा रहेको चेतावनी दिइरहेका छन् ।
टेस्लानका सिइओ एलन मस्कका अलावा बिल गेट्स तथा एप्पलका सह सस्थापक स्टिभ बोजनियाकले पनि आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको भविष्यमाथि चिन्ता व्यक्त गर्दै आएका छन् । केही दिनअघि एलन मस्क र मार्क जुकरबर्गबीच बहस समेत भएको थियो । जुकरबर्गले मस्कलाई लक्षित गर्दै भनेका थिए – केही मानिसलाई हरेक चिजमा नाइँ भन्न मात्र आउँछ । म यो कुरा बुझ्दिनँ । यो निकै नकारात्मक र गैरजिम्मेवारी हो ।
त्यसको प्रत्युत्तरका रुपमा मस्कले ट्विट गर्दै भने –मैले मार्कसँग आर्टिफिसियल इन्टेलिजेन्सको भविष्यको बारेमा कुराकानी गरेको थिएँ । यस मुद्दामा उनको ज्ञान निकै कम छ । सझामंच मा खबर रहेको छ
आर्टिफिसियल इन्टेलिजेन्सको सफलता मानव सभ्यताका लागि निकै खतरनाक रहेको मस्कको ठहर छ । उनका अनुसार आर्टिफिसियल इन्टेलिजेन्स एउटा यस्तो असामान्य मुद्दा हो जहाँ हामी नियन्त्रकको भूमिकामा रहनुपर्दछ । यदि हामीले मात्र प्रतिक्रिया दिइरहने हो र आर्टिफिसियल इन्टेलिजेन्सलाई नियन्त्रण नगर्ने हो भने ढिला भैसक्नेछ ।










