काठमाण्डाै – सरकारले ल्याएको अध्यादेशविरुद्ध काठमाण्डौमा प्रदर्शन भएको छ । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो ।

सरकारले फौजदारी मुद्दाको सजाय भोगिरहेका रेशम चौधरी, मोहमद आलमलगायतलाई उन्मुक्ति दिने गरी अध्यादेश ल्याउन लागेको भन्दै उनिहरुले आज बिहान त्रिचन्द्र कलेज अगाडि प्लेकार्डसहित नाराबाजी गरे । अनेरास्ववियुले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा समेत मागेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विभिन्न मुद्दामा कसुर ठहर भई सजाय भोगिरहेका कैदीबन्दीलाई छुट दिन अध्यादेशमार्फत फौजदारी कार्यविधि संहिता, २०७४ लाई संशोधन गर्ने मन्त्रिपरिषद्को निर्णयलाई सत्ता गठबन्धनकै केही नेता तथा एमालेका नेताहरुले विरोध गरेका छन् ।

राजनीतिक समूहमा आबद्ध भएर विभिन्न कसुरमा जेलमा रहेका कैदीबन्दीलाई रिहाइ गर्न मन्त्रिपरिषद्ले आइतबार अध्यादेश ल्याउने निर्णय गरेको हो । देउवा नेतृत्वको कामचलाउ सरकारले मधेस आन्दोलन, टीकापुर घटना, नेत्रविक्रम चन्द समूह र सीके राउत समूहका नेता/कार्यकर्ताविरुद्ध विचाराधिन मुद्दा फिर्ता लिने तयारी गरेको छ । सरकारले अध्यादेश राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष पेश गरिसकेको छ ।