
दमक/ आज आइतबार बिहानैदेखि दमकको नमुना बजार र यससंगै जोडिएको एक घरमा भएको आगलागीका कारण करोडौं रुपैयाँ बराबरको धनमाल नोक्सानी भएको छ ।
नमुना बजारको मध्यभाग ( लायन्स स्तम्भ) पूर्व दक्षिण साइडका काठको एक तले व्यवसायिक घर पूर्ण रुपमा जलेर नष्ट भएको छ भने सोसंगै जोडिएको तीन तले पक्की घरमा रहेका पसलहरुमा पनि क्षति पुगेको देखिएको छ । पक्की घरको तेस्रो तलामा रहेको एउटा फेसन डिजाइन ट्रेनिङ सेन्टर सम्म आगोको मुश्लो पुगेको छ ।
आगलागीका कारण त्यहाँका जुत्ता चप्पल पसल, फेन्सी कपडा पसल लगायतका पसलहरुमा भएको क्षतिको यकिन विवरण संकलन भइनसके पनि करोडौं मूल्य बराबरको नोक्सानी भएको अनुमान गरिएको छ ।
आगलागीस्थलमा बिहान पुगेका दमक ७ का वडाध्यक्ष भिम प्रसाद पौडेलले आगलागी राती कुन समयमा शुरु भयो भन्ने यकिन नभएको बताउनु भयो ।
दमक नगरपालिकाको वारुण यन्त्र कक्षमा एक जना पत्रिका वितरकले बिहहान करिब ३ बजे फोन गरेर आगलागी भइरहेको पहिलो सूचना दिएको पौडेलले बताए । घटनास्थल नजिकैको सिग्देल डिपार्टमेन्टका सञ्चालक लोकनाथ सिग्देलले बिहान सवा ३ बजे आफूले आगलागी भएको थाहा पाएको बताए । आगो निभाउन दमक नगरपालिकाको वारुण यन्त्र घटनास्थलमा पुगेपनि नमुना बजार किनारमा लगाइएको फलामको रेलिङका कारण आगो निभाउन अवरोध पुगेको बताइएको छ । रेलिङ भत्काएर मात्रै दमकलले सहज रुपमा पानी फयाँँँक्ने व्यवस्था मिलाइएको थियो । इलाका प्रहरी कार्यालय दमकका डिएसपी दिलिप गिरीले आगलागीको कारण यकिन भइनसकेको बताउँदै करिब साढ ३ बजे प्रहरीमा घटनाको पहिलो सूचना पुगेको बताएका छन । क्षतिको विवरण संकलन गर्ने र अनुसन्धान गर्ने कार्य जारी रहेको बताए ।
बिहान करिब ८ बजे सम्ममा मात्रै आगो पूर्ण रुपमा निभाइएको थियो ।