दमक १० स्थित वडा कार्यालय परिसरमा आज पहिलो चरणमा दलित भुमिहिन, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी हरुलाइ धनीपुर्जा वितरण कार्यक्रम सम्पन्न भएको छ।

दमक नगरपालिकाको आयोजनामा भएको उक्त कार्यक्रमको अध्यक्षता दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले गरेका थिए भने प्रमुख आतिथ्यता राष्ट्रिय भुमि आयोगका अध्यक्ष केशव निरौलाले गरेका थिए। त्यसैगरी राष्ट्रिय भुमी आयोग झापा जिल्ला अध्यक्ष तिलकसिंह पाण्डे, दमककि उपप्रमुख रेगिना भट्टराई प्रसाईं लगायतको विशिष्ट आतिथ्यता रहेको थियो भने नगर भुमिहिन व्यवस्थापन समिती सदस्यहरु , वडा समन्वय समिति सदस्यहरु, वडाका जनप्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, पत्रकारहरु साथै विविध सामाजिक व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो।

उक्त कार्यक्रममा पहिलो चरणमा नापी गरिसकिएका २७ परिवारलाई राष्ट्रिय भुमि आयोगका अध्यक्ष केशव निरौलाले धनीपुर्जा वितरण गरेका थिए। आयोगको तर्फबाट बोल्दै उनले भने “लोकतान्त्रीक देशमा सरकार परिवर्तन हुनु स्वभाविक प्रक्रिया हो त्यसैले म यस स्टेज बाट सरकारलाई निवेदन गर्न चाहन्छु यदि सरकारले भुमिहिनहरुको समस्या बुझ्छ भने आयोग लाई सहयोग गरोस ताकी यथा सिघ्र हामी देशैभरीका भुमिहिन हरुलाइ भुमिको स्वामित्व दिलाउन सकौं र सरकारले राजनैतिक हिसाबमा मात्र सोचेर आयोगलाई असहज पुर्याउछ भने मेरो भन्नू केही छैन त्यसैले हाम्रो कार्यकालमा सहज तरिकाले काम गर्न पायौं भने नेपालको सुकुम्बासी समस्याको अन्त्य हुनेछ।”

“दमक नगरपालिका लाई विशेष धन्यवाद, मेयर उपमेयर मात्र नभई संयोजक डम्बर राज बराल लगायत दमकको सम्पुर्ण टिमलाइ यो पवित्र कार्यको नेतृत्व गरेकोमा हार्दिक आभार व्यक्त गर्दछु” उनले थपे।

मेयर राम कुमार थापा सपथ ग्रहणकै दिन जिल्ला भुमि आयोगको कार्यालय पुगेर समन्वयको सुरुवात गरेको र निरन्तरको प्रयासबाट आज पहिलो चरणमा सफल भइ उदाहरणीय कार्य गरेको भन्दै आयोगका अध्यक्षले दमकका मेयरको प्रशंसा समेत गरे।

मेयर राम थापाले अब वडा नम्बर ३ को निस्सा वितरण गरिसकेर निरन्तर नापी र धनीपुर्जा वितरणको काम चल्ने र एक बर्ष भित्रमा सबै भुमिहिन हरुलाइ धनीपुर्जा वितरण गरिसक्ने आफ्नो अठोट रहेको जानकारी गराउदै थपे ” आज दमकमा रहेका भुमिहिन हरुको समस्या समाधान गर्ने मेरो जिन्दगीको एउटा महत्त्वपूर्ण सपना सफल हुदैगर्दा म भावविह्वल भएको छु त्यसकारण अब यो कार्यलाई कुनै पनि हालतमा मेरो तर्फबाट रोकिन दिने छैन।”




