दमक नगरपालिकाले श्री सिंहदेवी मा वि दमक १० मा आयोजना गरेको एक दिने लागु औषध दुर्व्यसन विरुद्धको सचेतना कार्यक्रमको दमक १० स्थित इन्द्रेणी युवा क्लबले विरोध गरेको छ।

लागु औषध विरुद्धको कार्यक्रम भनेर पैसा पचाउने खेल मात्र भएको उक्त क्लबले आरोप लगाएको छ। इन्द्रेणी युवा क्लबका उपाध्यक्ष उमेष राई भन्छन, ‘लागुऔषध दुर्व्यसन कोठामा कार्यक्रम गरेर रोकथाम हुन सक्दैन, रोकथाम गर्नको लागी त युवाहरूलाई खेलकुदमा प्रोत्साहित गर्नुपर्छ, रोजगारीको सृजना गर्नुपर्छ यस्ता राज्यको पैसा पचाउने कार्यक्रम गरेर हुन्छ?’

सोहि क्लबका सदस्य सुवास राइ भन्छन, ‘ हामीले विद्यालय व्यस्थापन समितिका अध्यक्ष प्रेम न्यौपाने र वडाध्यक्ष राजेन्द्र भण्डारी लाई समेत विद्यालयको जमिनमा एउटा खेल मैदानको आवश्यकता छ, खेलकुदमा आकर्षित गराएर युवाहरूलाई दुर्व्यसन बाट जोगाऔं भनेर बारम्बार लिखित तथा मौखिक अनुरोध गर्यौं, त्यसको लागि विद्यालयको जग्गा लाइ प्रयोग गरौं हामी बार्षिक लिज तिर्न तयार छौं भन्दा मान्नुभएन तर अहिले कोठभित्र १२,१५ जना केटाकेटी र ३० , ३५ जना बुढाबुढिको विचमा कार्यक्रम गर्दा लागु औषध दुर्व्यसन रोकिन्छ? यो त हलो अड्काएर गोरु चुट्ने काम भएन?’

स्थानीय सामाजिक व्यक्तित्व पदम भण्डारी भन्छन, ‘लागुऔषध दुर्व्यसन हरुलाई सुधार्न स्थानीय निकायले उनीहरुलाई व्यस्त बनाउनु जरुरी छ, खेलकुद एउटा उपयुक्त माध्यम हुनसक्छ।’

वडाध्यक्ष राजेन्द्र भण्डारि भन्छन ‘दमक १० को विज्ञान पार्क बन्ने स्थानमा अस्थायी खेलमैदान बनाउन हामीले पहल गरेका हौं तर विद्यालयको स्वामित्वमा उक्त जग्गा भएको कारण, विद्यालय व्यवस्थापन समितिले कृषि प्रायोजनको निम्ति उक्त जग्गा दिने निर्णय गर्यो त्यसैले हाम्रो प्रयास सफल भएन तर युवा र खेलकुदको निम्ति हाम्रो सकारात्मक प्रयास रहनेछ।’

‘दुर्व्यसन विरुद्ध उचित निति तथा कार्यक्रम ल्याउन नगर कार्यपालिका कटिबद्ध छ त्यसैले इन्द्रेणी युवा क्लबले उठाएका मुद्दालाई नगर कार्यपालिका मार्फत सम्बोधन गर्न हामी भरपुर प्रयास गर्नेछौं’ नगर कार्यपालिका सदस्य तथा लागु औषध दुर्व्यसन विरुद्ध सचेतना अभियानकि संयोजक शारदा भट्टराई सापकोटा बताउछिन।

त्यसैगरी श्री सिंहदेवी मा वि का व्यवस्थापन समिति अध्यक्ष प्रेम न्यौपाने भन्छन ‘नगर कार्यपालिकाको निर्णयले पारित गरे क्लबले विज्ञान पार्क नबनुन्जेल खेलमैदान बनाउन सकिन्छ’

प्रतिक्रिया

सम्बन्धित खवर