राष्ट्रिय जनता पार्टीमा स्थानीय तहको निर्वाचनमा सहभागी हुने कि नहुने भन्ने विवाद कायमै रहेको छ । चार दिनसम्म चलेको पदाधिकारी बैठकले स्थानीय निर्वाचनमा जाने कि नजाने भन्ने निर्णय गर्न सकेन । पदाधिकारी बैठकमा छलफल भएका एजेन्डा नै आइतबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा छलफल हुने भएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राजपाको पदाधिकारी बैठकमा अधिकांश पदाधिकारीले निर्वाचनमा सहभागी हुनुपर्ने धारणा राखेपछि सो मुद्दा केन्द्रीय समितिमा प्रवेश गर्न लागेको हो ।२ असोजको स्थानीय निर्वाचनलाई उपयोग गर्नुपर्ने ती पदाधिकारीको धारणा थियो । १३४ पदाधिकारीहरूले मिश्रित धारणा राखेका छन् । ‘निर्वाचनमा सहभागी हुन नहुने र हुनुपर्ने दुवै धारणा आएका छन्, त्यसलाई केन्द्रीय समितिको बैठकको एजेन्डामा राखिनेछ,’ राजपा महासचिव मनीष सुमनले भने । उनका अनुसार बहुमत पदाधिकारीले निर्वाचनमा सहभागी हुन नहुने मत राखेका छन् ।

संविधान संशोधन बटमलाइन बनाउन नहुने आवाज बलियो निर्वाचनको पक्षमा बोल्नेहरूले संविधान संशोधनको मुद्दालाई सँगै लिएर गए पनि बटमलाइनका रूपमा राख्न नहुने तर्क गरेका थिए । केही पदाधिकारीले भने संविधान संशोधन विधेयक संसद्मा पेस गरेर जस्तो परिणाम आए पनि स्वीकार गरेर जानुपर्ने भनाइ राखेका थिए । आइतबारबाट सुरु हुने केन्द्रीय समिति बैठकमा पार्टीको भावी कार्यदिशा, विधान र घोषणापत्रलाई अन्तिम रूप दिने एजेन्डा राखिएको छ । राजपा गठनपछि पहिलोपटक बस्न लागेको केन्द्रीय समिति बैठकले संविधान संशोधन र निर्वाचनमा सहभागिताबारे पनि टुंगो लगाउने महासचिव सुमनको भनाइ छ । राजपाको केन्द्रीय समितिमा ८१५ जना केन्द्रीय सदस्य छन् ।

हृदयेश समूहको बहिष्कार राजपाका वरिष्ठ नेता हृदयेश त्रिपाठीको समूहले राजपाको पदाधिकारी बैठक बहिष्कार गरेको छ । यस समूहले केन्द्रीय समितिको बैठकसमेत बहिष्कार गर्ने बताइएको छ ।

त्रिपाठी समूहमा सर्वेन्द्रनाथ शुक्ला, बृजेश गुप्तालगायका नेताहरू छन् । तमलोपाका प्रभावशाली यी नेताहरूले राजपाका संयोजक महन्थ ठाकुरलाई आफ्ना अडानबारे जानकारी गराइसकेका छन् ।