(प्रकाश उप्रेती) बिर्तामोड । झापाका विभिन्न ठाउँमा चोरीका घटना वृद्धि भइरहँदा प्रहरीको अनुसन्धान फितलो भएको बुझिएको छ । मोबाइल, ल्यापटप, कम्प्युटर, साइकल, मोटरसाइकल चोरीका घटना बढेसँगै प्रहरीको फितलो अनुसन्धानका कारण नागरिकको निवेदनको सुनुवाइ हुन सकेको छैन । झापाको भद्रपुर, काँकडभिट्टा धुलाबारी, धाइजन, चारआली, बिर्तामोड सुरुङा, दमकलगायतका घर(अफिसमा राखिएको र बजारमा पार्किङ गरेकै ठाउँबाट चोरी हुँदै आएको छ ।

सामाग्रीका धनी नागरिकले प्रहरीलाई लिखित र मौखिक रुपमा जानकारी गराए पनि नागरिकले प्रहरीको परिणाम हात पार्न सकेका छैनन् । केही महिना अघि मेचीनगर (१४ प्रगति टोलबाट हेमकुमारी र उनका श्रीमानको घरबाट २ वटा सामसुङ मोबाइल, कृष्ण थापाको दोस्रो तलाबाट आइफोन चोरी भएको थियो । उनीहरूले प्रहरी कहाँ पुगेर निवेदन गरे । त्यस्तै मेचीनगर ४ मा रहेको बिहानी बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीको मोटरसाइकल संस्थाकै पार्किङ स्थलबाट चोरी भयो ।

तत्काल प्रहरीलाई निवेदन गरे । बिर्तामोडमा मोहनकृष्ण ट्रेडसका प्रोप्राइटर दीपक मैनालीको चोकबाट पल्सर मोटरसाइकल हरायो । प्रहरीलाई सोही बेला निवेदन दिए । तर, हालसम्म ती सामाग्री र मोटरसाइकल पीडितले हात पार्न सकेका छैनन् । उनीहरू हराएको सामाग्री र मोटरसाइकल फेला पार्ने भन्दा पनि आफू र आफूले चलाएका साधन-सम्पत्तिको सुरक्षाको प्रश्न गर्दै आएका छन् । नागरिकको ज्यान र उनले आर्जेको सम्पत्तिको सुरक्षा गर्ने निकाय र निकायको अनुसन्धान नै कमजोर भएको पीडितको तर्क छ ।

फागुन २९ गते सोमबार बिर्ता बजारबाट देवी कडरियाको मे ४ प ३३८३ कालो सुपर स्प्लेन्डर मोटरसाइकल चोरी भएको छ । शिक्षक कडरियाले विद्यालयबाट घर पुगेर तरकारी लिन बिर्ता बजारको उत्तरपाट्टीको प्लटिङ छेउमा पार्किङ गरेका थिए ।

तरकारी किनमेलपछि बाइक पार्किङ गरेको ठाउँमा पुग्दा आफ्नो मोटरसाइकल नपाएपछि हारगुहार गर्दै इलाका प्रहरी कार्यालय बिर्तामोडमा मोटरसाइकल हराएको निवेदन दिएका छन् । साँझ ५ बजेको घटना भए पनि यो समाचार तयार पार्दासम्म प्रहरी अनुसन्धानमै रहेको भनाई प्रहरी कार्यालयको छ । हालसम्म फेला पार्न सकिएको छैन, प्रहरीले पनि कुनै फेला पारेको खबर नगरेको गुनासो पीडित कडरियाको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय