
काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक समितिमा नगइकन नटुङ्गिने बताउनु भएकाे छ ।
शनिवार सिंहदरबारमा रहेकाे सभामुखको कार्यालयमा बसेको शीर्ष तीन दलका नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले छलफलमा संसदलाई गतिशील बनाउने कुरामा छलफल भएको बताउनु भयो । उहाँले अहिलेको बैठक प्रारम्भिक रहेको र बैठक सकारात्मक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सदनका काम कारबाहीको सन्दर्भमा सदनलाई कसरी प्रभावकारी र गतिशील ढङ्गले बढाउने र अहिले आएका समस्यालाई कसरी समाधान गर्ने भन्ने सन्दर्भमा छलफल भयो, यो प्रारम्भिक हो, सकारात्मक छ । समितिमा कुनै न कुनै हिसाबले जानैपर्छ । दुई तीन दिनभित्र अर्को बैठक बस्छ ।’
अध्यक्ष ओलीले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक कुनै न कुनै हिसाबले समितिमा लैजानैपर्ने बताउनु भयो ।